टुँडिखेलको कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु नआएपछि बाबुरामको प्रश्न- चुनावको बेला मात्रै दाँत ङिच्याउँदै जाने हो ?


काठमाडौं । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय दिवसमा सरकारले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा ठूला पार्टीका शीक्र्ष नेता उपस्थित हुन छाडेको भन्दै गुनासो गरेका छन् ।

भट्टराईले प्रजातन्त्र दिवसमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री, बहालवाला उपप्रधानमन्त्री वरिष्ठ व्यक्तित्व र प्रमुख प्रतिपक्षी दलका नेतालगायतको उपस्थित नरहेको भन्दै आक्रोश व्यक्त गरे ।

‘यस पटक मात्र हैन प्रायः सधैँ यस्तो दृश्य देख्नु पर्दा मन खिन्न हुन्छ । आखिर किन यस्तो हुन्छ ? राष्ट्रिय दिवसहरूबारे कतिपय सच्याउनु पर्ने कुरा छन् । ती बारे पुनर्विचार गरेर सङ्ख्या घटाउनुपर्छ भन्ने मेरो सुरुदेखि नै दृढ मत छ। तर अर्को निर्णय नभएसम्म राष्ट्रिय दिवसहरूलाई सबैले सम्मान गर्नुपर्दछ,’ उनले लेखेका छन्,‘खासगरी राज्यको उच्च ओहदामा बसिसकेका व्यक्तिहरूले आ–आफ्ना फरक राजनीतिक आस्थाका बाबजुद राष्ट्रिय दिवसहरूको सम्मान गर्ने न्यूनतम दायित्व निर्वाह गर्नैपर्छ ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले आजको कार्यक्रममा पूर्व विशिष्टको तर्फबाट आफू एक्लो सहभागी रहेको बताएका छन् । उनले विभिन्न कलाकारले मेहनत गरेर प्रस्तुत गरेको प्रस्तुतीलाई हौसला दिन पनि शीर्ष नेताहरु यस्तो कार्यक्रममा आउनुपर्ने बताएका छन् ।

उनले भनेका छन् ‘साथै विशेषतः सेनारप्रहरीरसशस्त्र प्रहरीका जवान र सांस्कृतिक कर्मीहरूले सधैं निकै मेहनत गरेर उच्चकोटीको र देशभक्तिपूर्ण प्रस्तुती दिने गर्दछन्। अनि स्थानीय पालिकाहरूको सांस्कृतिक झाँकी, राष्ट्रिय खेलाडीहरूको तेक्वान्दो प्रदर्शन लगायतका प्रस्तूती प्रशंसायोग्य हुन्छन् । तिनलाई हौसला दिने कथित ठुलावडाहरूको कर्तव्य होइनरु कि चुनावको वेला मात्रै दाँत ङिच्याउँदै जाने हो ?’।