ज्ञानेन्द्रलाई योगेश भट्टराईको चेतावनी- २५० वर्षसम्म मौका दिएकै हो, फेरि राजा बन्ने सपना नदेख्नू

अध्यादेश दुवै सदनबाट पारित हुन्छ, ०८४ मा एमालेले एकल बहुमत ल्याउँछ


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको अभिव्यक्तिबाट राजावादीहरु हौसिन जरुरी नरहेको बताएका छन् ।

बिहीबार एमालेनिकट प्रेस चौतारी नेपालले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनामा बोल्दै भट्टराईले ज्ञानेन्द्रको वक्तव्यले राजाबादी सल्बलाउनुको अर्थ नभएको र राजा बन्छु भन्ने ज्ञानेन्द्रको अभिलाषा पनि अब पूरा नहुने उनले बताए । राजालाई २५० वर्षसम्म मौका दिएको स्मरण गर्दै उनले फेरि राजा हुन्छु भन्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

‘उहाँको वक्तव्यपछि राजावादीहरू चम्किँदै छन्, गणतन्त्र फेल भयो भनेर मौका मागिरहेका छन् । २५० वर्षसम्म मौका दिएकै हो उनले भने उहाँकै कारण राजतन्त्रको अन्त्य भएर जनताको शासन गर्ने गणतन्त्र आएको हो,’ उनले भने, ‘फेरि राजा बन्छु भन्नु सुहाउँदो कुरा होइन’ ।

फरक प्रसंगमा पूर्व मन्त्रीसमेत रहेका नेता भट्टराईले सरकारले ल्याएका ६ वटै अध्यादेश संसद्को दुवै सदनबाट पारित हुने दाबी गरेका छन् । सरकारलाई सकसमा पारेको भूमि अध्यादेश पनि पारित हुने उनको जिकिर छ । नेकपा एस र जसपाले अध्यादेशका पक्षमा नलाग्ने निर्णय गरिसकेको अवस्थामा अध्यादेश कसरी पास हुन्छभन्ने प्रश्नमा उनले भने, ‘त्यो उपाय अहिले खुलाउन मिल्दैन । राष्ट्रिय सभाका माननीयज्यूहरू परिपक्व हुनुहुन्छ । उहाँहरू देशका पक्षमा आएको अध्यादेशलाई पारित गराउन सहयोग गर्नुहुन्छ ।’

नेता भट्टराईले ०८४ सालको आम निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् । उनले वलियो सरकार निर्माणका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने र त्यसैको लागि आफूहरुले काम गरिरहेको बताए ।’संसदमा पक्ष र विपक्षी बलियो हुनुपर्छ,०८४ पछि एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने छु’, उनले भने, ‘यो हाम्रो दाबी हो ।’