पूर्वप्रधानमन्त्रीहरुले विदेशमा सम्पत्ति राखेको राप्रपा नेता लोहनीको दाबी (भिडिओसहित)


काठमाडौं, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले २०४६ सालदेखि अहिलेसम्मका प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति छानविन हुनुपर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेताहरुको महल कसरी ठडिएको हो भन्ने कुरा छानविन हुनुपर्ने बताएका हुन् ।

उनले नेताहरुलाई छोटेराजाको संज्ञा दिँदै भने, ‘२०४६ सालपछि कुन–कुन प्रधानमन्त्रीको, कुन–कुन मन्त्रीको कति–कति सम्पत्ति छ भन्ने कुरा छानविन गर्नुपर्यो पनि छ । यी छोटे राजाहरुको महल कसरी ठडिएको छ अहिले ? तयार हुन्छन् उनीहरु ? हाम्रो चुनौती छ,’– उनले भने ।

नेता लोहनीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई साथ दिन आफुहरु तयार रहेको पनि बताए । पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको शुभकामना सन्देश नेपाली जनताको भावना रहेको उनले बताए । अहिले नेताहरुले प्रजातन्त्रको नाममा प्रजातन्त्रलाई ध्वस्त पार्ने काम भइरहेको बताए । देशमा अहिले खुलेआम भ्रष्टाचार र षड्यन्त्र भइरहेको उनले बताए । देशका पूर्व प्रधानमन्त्रीहरुले एकले अर्कोलाई भ्रष्ट, बेइमान र चोर भन्ने गरेपनि कुनै पनि भ्रष्टाचारको मुद्दा निश्कर्षमा नपुगेको बताए ।

साथै, पूर्वप्रधानमन्त्रीहरुले मैले नेपालको कानुनविपरीत विदेशमा लगेर सम्पत्ति राखेको छैन भनेर भन्न सक्नुपर्ने बताए । नेता लोहनीले कुनै पूर्वप्रधानमन्त्रीले विदेशमा सम्पत्ति राखेको छैन भनेर भन्न नसक्ने दाबी गरे । ‘तपाईँहरु सत्तामा बस्नु भएको छ पूर्व प्रधानमन्त्रीहरु, एउटा कुरा भन्नुस्– नेपालको कानुनविपरीत विदेशमा लगेर सम्पत्ति राख्नु भएको छ कि छैन ? विदेशमा खाता छ कि छैन ? छैन भनेर भन्नुस् न ! हिम्मत छ ? नेपालको सम्पत्ति विदेशमा लगेर राख्नु अग्रगमन हो ?’ प्रश्न गर्दै उनले भने । File Photo/RN