नेपालीहरू कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा परराष्ट्रलाई थाहा छैनः मन्त्री देउवा


काठमाडौं, ८ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वभर अध्ययनका लागि पुगेका नेपालीहरुको तथ्याङ्क मन्त्रालयसँग नरहेको बताएकी छन् । आज (बिहीबार) ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएकी मन्त्री राणाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्ययानका लागि विदेशिएका विद्यार्थीहरुको तथ्याङ्क मन्त्रालयसँग नहुँदा समस्या परेको बेला उद्धार गर्नसमेत गाह्रो भइरहेको बताईन् । परराष्ट्रमा उनीहरुको तथ्याङ्क रहने व्यवस्था गर्न सकिएमा उद्धार र सहयोगका लागि सजिलो हुने उनको भनाइ छ । ‘नेपालीहरू को कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा परराष्ट्रलाई थाहा छैन । तर, समस्यामा परेपछि र उद्दार गर्नुपर्ने भए पछि थाहा हुन्छ,’– उनले भनिन् ।

साथै, परराष्ट्रसँग पर्याप्त जनशक्ति नहुँदा पनि अप्ठ्यारोमा परेकाहरुलाई उद्धार गर्न समस्या भइरहेको उनले बताईन् । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई सरकारले गम्भीर रूपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेकोसमेत उनले बताईन् ।

आफूले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेर प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीको लागि आग्रह गरेको उनले बताईन् । नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि पनि आग्रह गरिएको उनले सुनाईन् ।