डिस्चार्ज भए पोखराका मेयर आचार्य


काठमाडौं, ८ फागुन । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष–२०२५ को उद्घाटन गर्ने क्रममा हाइड्रोजन ग्यासले भरिएको बेलुन विष्पोट हुँदा उनी घाइते भएका थिए ।

उनीसहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने केही दिनअघि नै डिस्चार्ज भइसकेका थिए । पोखरामा प्राथमिक उपचारपछि मेयर आचार्य र उपप्रधानमन्त्री पौडेललाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।

मेयर आचार्यले आफू आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, किर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।