प्रधानमन्त्री ओली उचित समयमा भारत भ्रमणमा जानुहुन्छ, नजाँदैमा सम्बन्ध बिग्रिएको भन्ने व्याख्या गर्नुहुँदैन : खतिवडा


काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले २०८२ सालभित्र पार्टीको १५औं महाधिवेशन नहुने दाबी गरेका छन् । उनले भने,‘अहिले अधिवेशनको बाटोमा पार्टी जान्छ, उहाँ (सभापति शेरबहादुर देउवा) जानुहुन्छ जस्तो मैले पनि देखेको छैन । त्यसैले ०८४ को चुनाव अगाडि वा पछाडि त म भन्दिनँ । तर, यही २०८२ को मंसिरमा हुने सम्भावना कम छ ।’

आज (बिहीबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले पहिले संघको निर्वाचनको हुनुपर्नेमा जोड दिए । उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्नपनि सुझाव दिए । सो क्रममा उनले भारत र चीन दुवै मुलुकसँग सुमधुर सम्बन्ध कायम गरेर जानुपर्नेमा जोड दिए ।

सांसद खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली पनि विस्तारै भारत भ्रमणमा जाने विश्वास दिलाए । पत्रकार धमलाले प्रधानमन्त्री ओली अहिलेसम्म भारत भ्रमणमा किन जानुभएन ? भनेर सोधेको प्रश्नमा नेता खतिवडाले भने,‘समय होला नि त, त्यो बाटो खुल्दैछ । बिस्तारै होला नि, सबै कुराको समय आउँछ । तर, प्रधानमन्त्री भ्रमणमा नजाँदैमा अहिले भारतसँग सम्बन्ध बिग्रिएको छ भन्ने व्याख्या हामीले पनि गर्नुहुँदैन, त्यही लेभलको कुरा भैराखेको छ । उचित समयमा प्रधानमन्त्री पनि भारत भ्रमणमा जानुहुन्छ ।’