काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले संवादमार्फत सबै दलसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । आज (बिहीबार) पार्टीनिकट भातृ संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई तिहाइ बहुमतको आधारमा नभएर सबै दलको सहमति र सहकार्यको आधारमा संविधान संशोधन गरिने बताएका हुन् । कांग्रेस–एमालेको गठबन्धन बन्दा नै संविधान संशोधनको एजेण्डालाई विशेष महत्व दिइएको बताउँदै उनले १० वर्षको दर्वियानमा देखिएका कमीकमजोरीलाई सम्बोधन गरिने बताए ।
‘हामीले संविधान संशोधनको पनि कुरा गरिराखेका छौं । अहिले संविधान संशोधन गर्ने क्रममा हामीले खास गरेर अहिले भनेको विषय के हो त भन्दा हामीले दुई राजनीतिक दलको बीचमा सात बुँदे सहमति गर्दापनि हामीले उल्लेख गरेका छौं । संविधान लागू भएको १० वर्ष भएको छ । यो १० वर्षको दर्वियानमा संविधानका सबल र दुर्बल पक्षहरु के–के रहे ? त्यसको पहिचान गर्ने, त्यसको पहिचान गरिसकेपछि संविधानको कहाँ–कहाँ परिमार्जन गर्ने ? ती कुराहरुलाई परिमार्जन गर्ने र यसको लागि सबै राजनीतिक दलहरुको बीचमा राष्ट्रिय सहमति बनाएर वार्ता, संवाद, सहमति र सहकार्यका साथ अघि बढेर संविधान संशोधन गर्ने हाम्रो लक्ष्य छ ।’ उनले भने, ‘त्यसका लागि कांग्रेुस र एमालेले कार्यदल बनाउने कुरामा हाम्रो सहमति भइसकेको छ । केही दिनमा कार्यदलमा को–को बस्ने भन्ने कुराको निर्णय हुन्छ । त्यो कार्यदलले कार्य प्रारम्भ गर्छ । तर, यसमा पनि एउटा कुरा कन्फ्यूजन नहोस्– कांग्रेस र एमालेले मात्रै संविधान संशोधन गर्ने होईन । हामीले यो यात्रा प्रारम्भ गर्छौं । अरु पनि राजनीतिक दलहरुलाई संवादमार्फत सहमतिमा ल्याउँछौं । सहकार्य गरेर हामी संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउँछौं ।’
संविधान संशोधन गर्दा पनि श्रम र श्रमिकसँग सम्बन्धित विषय र ट्रेड युनियनको हक सुरक्षित गर्ने विषयमा थप गर्नुपर्ने केही कुरा आवश्यक भए त्यसलाई पनि सम्बोधन गरिने उनले बताए । वर्तमान संविधानलाई असफल बनाउने छुट नेताहरुलाई नरहेको उनले बताए ।




प्रतिक्रिया