पार्टीभित्र राजा बन्ने प्रवृत्ति बढ्दै गयो, इमान्दार कायकर्तालाई गाह्रो छः माओवादी नेता किराती


काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले पार्टीभित्र राजा बन्ने प्रवृत्ति बढ्दा सहिदहरुको अपमान भइरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) उदयपुर चौदन्डीगढी नगरपालिकामा पार्टीको सहिद सप्ताहअन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्दै उनले हजारौं सहिदको बलिदानबाट प्राप्त गणतन्त्रमा श्रीपेच लगाउने राजा हटेपनि अहिले पार्टीभित्र टोपी लगाउने राजाहरु देखा परेको बताएका हुन् । उनले यस्ता प्रकारका गतिविधिका कारण इमानदार नेता तथा कार्यकर्ताहरुलाई जीउन गाह्रो भइरहेको बताए ।

‘हाम्रो राजा बन्ने चरित्रले सहिदको अपमान हुँदैछ। हजारौं सहिदको बलिदानबाट प्राप्त गणतन्त्रमा श्रीपेच लगाउने राजा छैन । तर, टोपी लगाउने राजाहरूको चरित्रले सहिदको अपमान भएको छ,’– उनले भने ।

फरक प्रसंगमा पूर्वमन्त्री किरातीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट शासन गरेको भन्दै आक्रोश पोखे । अध्यादेशबाटै देशलाई चलाउने हो भने संसद् खारेज गर्दा हुने उनको सुझाव छ । आफूलाई दुईतिहाई बहुमत छ भनेर हिँड्ने सरकारले संसद्बाट डराएर अध्यादेशको बाढी चलाएको नेता किरातीको टिप्पणी छ ।

नेता किरातीले प्रधानमन्त्री ओलीतर्फ कटाक्ष गर्दै लोकतन्त्रमा विधि र विधानको हुर्मत लिने व्यक्तिले नै सरकारको नेतृत्व गरिरहेको बताए । ‘लोकतान्त्रिक व्यवस्थामा कार्यपालिकाले व्यवस्थापिकाको सिमा मिच्न मिल्छ कि मिल्दैन ? देशका बौद्धिक वर्ग बोल्ने बेला भयो। यसरी नै सरकारले संसद्को क्षेत्राधिकार मिच्ने हो भने संसद् खारेज गरिदिउँ । यति ठूलो देशलाई आर्थिक भार किन बोकाउनुपऱ्यो ? जनताको कष्टकर जीवनप्रति सँधैं सरकार उदासिन रहने अलोकतान्त्रिक गैरसंवैधानिक ढोकाबाट शासन गर्न रुची गर्ने सकारलाई तानाशाही किन नभन्ने ?’ प्रश्न गर्दै उनले भने ।