काठमाडौं, ९ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सरकारको आयु प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत थाहा नरहेको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारको आयु थाहा भएको व्यक्ति मात्रै शेरबहादुर देउवा रहेको बताए । सरकार देउवाकै हातमा रहेको र ढल्ने वा नढल्ने कुरा उनैको हातमा रहेको नेता शर्माले बताए ।
‘कांग्रेस–एमाले गठबन्धन भत्किन्छ ? भन्ने प्रश्नमा उनले भने,‘त्यो मात्रै एक जना व्यक्तिलाई थाहा छ । त्यो शेरबहादुर देउवा । गठबन्धन भत्किन्छ भत्किँदैन उहाँलाई सोध्नुस् न । म कसरी भन्न सक्छु त ? सरकार ढल्ने नढल्ने भन्दा पनि यो कुरा आज कसको हातमा छ भन्दा शेरबहादुर देउवाको हातमा छ । उहाँले के गर्नुहुन्छ, त्यही हुन्छ,’– नेता शर्माले भने ।
साथै, एमालेसँग माओवादीले सहकार्य गर्ने सम्भावना नरहेको उनको भनाइ छ । सहकार्य गर्ने वा नगर्ने भन्ने निर्णय लिने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रहेको बताउँदै उनले आफ्नो धारणा भने अहिले सहकार्य गर्न नहुने रहेको सुनाए ।




प्रतिक्रिया