काठमाडौं, ९ फागुन । नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दीक्षितले केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै चीनतिर ढल्किएकोको कारणले नेपालमा चिनियाँहरुको बोलवाला भएको आरोप लगाएका छन् । उनले नेपाल बीआरआईमा गएपछि भारत र अमेरिकाले नेपाल अब पूर्ण रुपमा चीनतिर ढल्किएको भनेर हेरेको पनि टिप्पणी गरे । उनले अब नेपाललाई अलिकति अप्ठ्यारो हुने भविष्यवाणी गरे । उनले ओली र प्रचण्डहरुले नेपाललाई पूर्ण रुपमा चीनको पोल्टामा हालिदिएको गम्भीर आरोप लगाए ।
आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा उनले अमेरिकाको पनि अहिले चीनसँग मित्रता नभएको टिप्पणी गरे । नेपाली राजनीतिमा किन चिनियाँ कार्ड प्रयोग भयो त ? भन्ने प्रश्नमा उनले भने,‘चाईनिज कार्ड प्रयोग भएको होईन, यो त हाम्रो कम्युनिष्ट जुन भाइहरु छन्, खासगरी ओलीजी र प्रचण्डजीको उदय भयो, खास ओली नै भनौं, ओलीको जबदेखि प्रधानमन्त्री काल भयो, उनी यसरी चाइनातिर ढल्किदिए, उनले इण्डियालाई पनि लात हानेर इलेक्शन जितेका हुन् । उनले इण्डियालाई लात हान्दाहान्दै चाइनातिर यति ढल्किदिएका चाइनिजको यहाँ बोलावाला भयो ।
उनले भने,‘अमेरिकाको पनि अहिले मित्रता चीनसँग छैन । भारतको पनि चीनसँग मित्रता छैन । चीनसँग ननमित्रता भएकाहरु भारत र अमेरिकाले नेपाललाई हेर्ने नजर एउटै पर्यो । हामी नेपालीहरु कम्प्लिट्ली चाईना कार्डमा परेका छौं । ओली र प्रचण्डजीको कृपाले गर्दाखेरि, जुन नेपालमा कम्युनिष्ट सरकार बन्यो त्यसबेलादेखि हामीले चाइनिजहरुलाई नेपालमा हात हाल्न दियौं, चिनियाँहरुको बोलावाला चल्दाखेरि हामीले अमेरिकालाई पनि चिढ्याएछौं । अहिले ट्रम्पको उदय भएपछि र भारतमा पनि मोदीको उदय भएपछि दुवैले नेपालमा हेर्ने नजर एउटै बनाएका छन । दुवैको नजरमा हामी चीनतिर ढल्किएका थियौं ।’




प्रतिक्रिया