काठमाडौं, ९ फागुन । भारतको ओडिसास्थित कालिङ्गा ईन्सिटच्युट आफ ईन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफूहरुमाथि अमानवीय व्यवहार भएको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युपछिको उत्पन्न भएको परिस्थितिका क्रममा आफूहरुमाथि ज्यादति र अमानवीय व्यवहार भएको बताएका हुन् ।
‘हामीलाई पुलिसले मात्रै नभएर त्यहाँको सेक्युरिटी गार्डहरुले पनि कुटपिट गर्न थाले । जति छिटो आफ्नो देश गइहाल भने । हामीलाई अपराधीजस्तो व्यवहार गरियो । हामीलाई १० मिनेटमा व्याग प्याक गरेर निस्किन भनियो । आफ्नो देशमा गएर काम गर, खेत खनजस्ता कुरा भनियो,’– एक पीडित विद्यार्थीले सुनाए ।
साथै, ती विद्यार्थीले प्रकृतिको मृत्यपछि त्यहाँका शंकास्पद सबैलाई नियन्त्रणमा नलिइएको र उनीहरुमाथि छानविन नभएको बताए । आफूहरुलाई भिडिओमा आएको भन्दा धेरै ठूला–ठूला यातना दिइएको उनले बताए ।
त्यस्तै, अर्का एक पीडित विद्यार्थीले आफूमाथि भएका ज्यादती यसरी सुनाए, ‘मेन गेट बन्द गरिदिएको थियो । हामीहरु कसैलाई निस्किन दिएको थिएन । उनीहरुले भनेअनुसार बसमा राखेर पठाउनका लागि । जो नेपाली देख्यो उसैलाई कुटिन्थो । त्यहाँका स्थानीय गुण्डा, शिक्षकहरु सबै जना सहभागी थिए । लठ्ठी प्रयोग गरी हामीलाई कुटिएको थियो । कतिको मोबाइल फुटाइदियो । मैले धेरै कुटाइ खाएँ । मैले सकेसम्म आफूलाई बचाएँ । मलाई बाहिर कुटपिट भयो । इन्चार्जको रुपमा लगियो । ६÷७ जना टिचर नै हुनुहुन्थ्यो । मलाई त्यहाँभित्र सोफामा लडाएर पनि कुटियो ।’
हामी नेपाल संस्थाका मधुसुदन गुरुङले उक्त घटनाले नेपालीहरुको इज्जत गएको र आत्मसम्मानमा चोट पुगेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित विद्यार्थीहरुलाई भेटेर उनीहरुको पीडा सुनिदिनु पर्ने उनको माग छ । प्रकृति लम्सालको मृत्युबारे सत्यतथ्य छानविन हुनुपर्ने र पीडित विद्यार्थीहरुले न्याय पाउनुपर्ने उनको माग छ ।




प्रतिक्रिया