समाचार सङ्कलनका लागि गएका सञ्चारकर्मीमाथि पाथीभरा केवलकार निर्माण कम्पनीको तर्फबाट भौतिक आक्रमण भएको आरोप


काठमाडौं, ९ फागुन । पाथीभरामा केवलकार निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी इन्द्र केदेम र उनको हतियारधारी सहयोगीहरुले सञ्चारकर्मीहरुमाथि भौतिक आक्रमण गरेको आरोप लागेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सञ्चारकर्मीमाथि भौतिक आक्रमण भएको खुलासा गरिएको हो ।

नो केवलकारको समर्थनमा भएको शान्तिपुर्ण पदयात्रा र क्षमायाचना अनुष्ठान सम्पन्न भएको भोलिपल्ट समाचार संकलनका लागि गएका उनीहरुमाथि आक्रमण भएको बताइएको छ ।
महाकुलुङ मिडियाका क्यामेरा पर्सन रेगन राई र गोल्डेन टिभिका सम्पादक अनुप योङहाङ लिम्बुमाथि केबलकार निर्माण पक्षले प्रहरीकै अगाडि भौतिक आक्रमण गरेको बताइएको छ ।

मुक्कुमलुङ संरक्षण संघर्ष समितिकी अभियन्ता सरु सिङगकका अनुसार डेकेदार इन्द्र केदेम र उनका सहयोगीहरुले प्रहरीकै सामु सञ्चारकर्मीहरुमाथि कुटपिट गरेका थिए । सञ्चारकर्मीहरुको क्यामेरासमेत खोसेर लगिएको छ । उनीहरुले अनुप योङहाङलाई अपहरण गरेर लगिरहेको अवस्थामा प्रहरीले छुटाएर आफ्नो सुरक्षामा राखिरहेको समेत अभियन्ता सिङगकले बताईन् । सो क्रममा तीन जना सन्चारकर्मी भने भाग्न सफल भएको बताइएको छ ।

त्यसैगरी, केबलकार निर्माण पक्षबाट तिनजुरे मिडियाका खेम देवान, इटहरी अनलाइनका बिक्रम लिम्बू, मानुसी मिडियाका चन्द्रमान राई र माङ्गेन्ना मिडियाका रिजन सिंह ठकुरी र दिलकुमार लावतीमाथि पनि गालिगलौजका साथै धाकधम्की आइरहेको बताइएको छ ।

मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आक्रमणकारीलाई तत्काल कारबाहीको माग गर्दै सरकारको ध्यानाकार्षण गराएको छ ।