रवि लामिछानेले सहकारी ठगी गरेको शेखरको दाबी, कारबाही हुनुपर्ने माग


काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाही हुनुपर्ने बताएका छन् । आज (शनिबार) प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय हुनुपर्ने बताएका हुन् ।

रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शङ्का नरहेको नेता कोइरालाको दाबी छ । तर, लामिछानेमाथि भएको मानव अधिकार उल्लङ्घनबारे सरकार पन्छिन भने नमिल्ने उनले बताए ।

‘ठगेको छ उसले, उसले सजाय पाउनुपर्छ । तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ नि राति उठाएर लगिदिने पोखरा । र पुलिसले, गृह मन्त्रालयले यो भन्नेकी हामी संरक्षण लिन सक्दैनौँ । किन लगेको थियो त ? संरक्षण दिन सक्दैन भने चितवनमा ?’ प्रश्न गर्दै उनले भने ।