गोविन्द रिजाल सम्झँदै प्राज्ञिक कोष स्थापना


काठमाडौं, १० फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा डा.गोविन्द रिजाल प्राज्ञिक कोष स्थापना भएको छ । स्वर्गीय रिजालकी धर्मपत्नी डा.शान्ता कार्कीले शुक्रवार डा.गोविन्द रिजाल प्राज्ञिक कोष स्थापना गरी १० लाख २५ हजार स्मृतिकोषलाई हस्तान्तरण गरेकी छिन् । उक्त स्मृतिकोषवाट त्रिवि कृषि र पशुविज्ञान अध्ययन संस्थानअन्तर्गत सञ्चालित कृषि विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने एकजना विद्यार्थीलाई डा.गोविन्द रिजाल प्राज्ञिक उत्कृष्ट पदक प्रदान गरिनेछ ।

त्रि.वि उपकुलपतिको कार्यालय कीर्तिपुरमा शुक्रवार आयोजित डा.गोविन्द रिजाल प्राज्ञिक कोष स्थापना गर्ने कार्यक्रममा त्रिविका तर्फबाट रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल र स्वर्गीय डा. गोविन्द रिजालकी धर्मपत्नी डा शान्ता कार्कीले दानदातव्य कोषमा योगदान तथा कोष परिचालनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको रजिष्ट्रार रिजालले बताए । कार्यक्रमलाई संक्षिप्त रूपमा सम्बोधन गर्दै रजिष्ट्रार प्रा.डा. केदार रिजालले दिवंगत रिजालको स्मृतिमा स्थापित कोषको अधिकतम सदुपयोग गर्ने बताउँदै परिवारजनले त्रिविलाई देखाएको विश्वास र स्नेहप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

कार्यक्रममा त्रिवि उपकुलपति प्रा.डा.केशरजङ्ग बराल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी, कृषि र पशुविज्ञान अध्ययन संस्थानका डीन प्रा.डा. किशोरचन्द्र दाहाल, त्रिवि योजना निर्देशनालयका निर्देशक डा लक्ष्मीकान्त शर्मालगायतको उपस्थिति रहेको थियो । प्रा.डा.गोविन्द रिजालको कृषि र पशुविज्ञान अध्यन संस्थानमा प्राध्यापनरत रहँदै सडक दुर्घटनाबाट देहावसान भएको थियो ।