काठमाडौं, ११ फागुन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले एमाले फुटाएर नयाँ पार्टी बनाउनुको औचित्यता पुष्टि गर्न नसकिएको हो कि भन्ने भान परेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । ‘मैले त पटक–पटक भन्ने गरेको छु, हामी नेकपा (एमाले) बाट फुटेर नेकपा (एकीकृत समाजवादी) बन्यौं, त्यसको औचित्यता पुष्टि गर्न नसकिएको हो कि भन्ने भान मलाई लागिरहेको छ,’– नेता श्रेष्ठले भने ।
साथै, पछिल्लो समय पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच गम्भीर मतभेद सुरु भएको पनि उनले बताए । ‘उहाँहरुको गम्भीर मतभेद भएको भन्ने जानकारी मलाई मात्रै होईन, सबैलाई जानकारी भएकै कुरा हो,’– उनले भने ।
पार्टी विभाजनको औचित्यता पुष्टि गर्न नसक्दा नसक्दै पनि अहिले अर्को पार्टीमा जाने र पार्टी विभाजन गर्नेबारे आफूले केही नसोचेको उनको भनाइ छ । नेता श्रेष्ठले आफू एकीकृत समाजवादीलाई नै सुधार्न सकिन्छ कि भनेर लागिरहने र लागिरहेको बताए । तर पार्टी नफुटाउनको लागि जसको कारणले र जे कारणले पार्टी फुटाइएको हो त्यो अनुसार चल्नुपर्ने उनले बताए । नेता तथा कार्यकर्ताहरुले दिनदिनै पार्टी छाड्नुले नै विभाजनको औचित्यता पुष्टि नभएको कुरालाई प्रमाणित गर्ने उनले बताए ।
एकीकृत समाजवादीको १०औं महाधिवेशनबाट कार्यकर्तामा निराशा सुरु भएको उनले बताए । महाधिवेशन प्रतिनिधिहरुलाई काठमाडौं उतारेर टीके प्रथाबाट नेतृत्व चयन गरिनु नै गलत भएको उनले बताए । पार्टीका नेताहरुले आफ्नो फरक मत नै राख्न नपाएको उनको गुनासो छ । एमालेमा हुँदा केपी ओली तानाशाही भए, बोल्न पाइएन, केही गर्न पाइएन, कसैले सुनेन भनेर पार्टी विभाजन गरेको कुरा नेतृत्वले बिर्सन नहुने उनले बताए । ‘जे कारणले हामीले एमाले फुटायौं, त्यही पाराले पार्टी चल्दैन,’– उनले भने ।




प्रतिक्रिया