काठमाडौं, ११ फागुन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले सरकारले ल्याएका सबै अध्यादेशलाई प्रतिपक्षको धर्म सम्झिएर अस्वीकार गर्न नहुने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देश र जनताको हितमा रहेका अध्यादेशहरुमा प्रतिपक्षले पनि साथ दिनुपर्ने बताएका हुन् । नपढी, नहेरी प्रतिपक्षकै धर्मजस्तो गरेर अस्वीकार गर्नु गलत हुने उनले बताए । तर, पार्टीको ह्वीप वा निर्णयविपरीत आफू जान नसकिने उनले बताए । ‘पार्टीगत संरचनामा छौं हामी । कलम चिन्हबाट मैले चुनाव जितेको छ । तर, म फेरि पनि के अनुरोध गर्न चाहन्छु भने– यदि नेपाल र नेपालीको हितमा आएको छ भने पास गर्नुपर्छ,’– उनले भने ।
साथै, कांग्रेस–एमालेसहितको गठबन्धन सरकार पूरै अवधि चलोस् भन्ने आफ्नो शुभेच्छा रहेको पनि नेता किसानले सुनाए । उनले महिना–महिना दिनमा सरकार ढलोस् र अर्को बनोस् भन्ने पक्षमा आफू नरहेको बताए । ‘कांग्रेस र एमालेको सरकार चलोस् । राम्रो बजेट ल्याओस्, राम्रो विकास गरोस् भन्ने मेरो चाहना छ । महिना–महिना दिनमा सरकार ढलोस् र बनोस् भन्ने मेरो चाहना छैन । तर, उहाँहरुकै कारणले टुट्यो भने त म के गर्न सक्छु र ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया