काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले नेपालमा राजतन्त्रको कुनै गुञ्जायस नरहेको र अब कहिल्यै नफर्किने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एक पटक चिहानमा गएर भूत, पिशाच बनिसकेको राजतन्त्र फेरि फर्किन्छ भन्नु दिवास्वप्नमात्रै रहेको बताएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रको लागि हजारौंको बलिदानी भएको र यो व्यवस्थाको विकल्प राजसंस्था हुनै नसक्ने उनको भनाइ छ ।
‘चिहानमा गइसकेको जुन कुरा छ नि, देशको भूत, पिशाचहरु फेरिपनि फर्किएर आउँछ भनेर कल्पना गर्छन् । त्यो भन्दा दिवास्वप्न के हुनसक्छ ? यो सम्भव छैन । देश अगाडि बढिसक्यो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्यो,’– नेता मोदीले भने ।
साथै, दुई तिहाइको बहुमतसहितको सरकारले जनताको पक्षमा र जनताको हितमा काम नगर्दा प्रतिगामी तत्वहरुले शिर उठाउने मौका पाइरहेको उनले बताए । उनले यदि पूर्वराजा ज्ञानेन्द्रलाई राजनीति गर्न मन लागेको हो भने आफूसँग प्रतिस्पर्धा गर्न मोरङ क्षेत्र नं. ४ मा आउन उनले चुनौति दिए । ‘यदि राजालाई राजनीति गर्न मन लाग्छ, नागरिक भएर राजनीति गर्छन् भने मोरङ– ४ मेरो निर्वाचन क्षेत्र हो । उहाँले चुनावमा उठेर, जितेर या राष्ट्रपतिमा चुनाव हुन्छ, उम्मेदवार उठेर शासन सत्ता चलाउँदा भइगयो नि,’– उनले भने ।
पूर्वराजा ज्ञानेन्द्रको कहीँ न कहीँ दरबार हत्या काण्डमा संलग्नता हुनसक्ने उनको आशंका छ । आजसम्म वीरेन्द्रको वंश नाशबारे ज्ञानेन्द्रले बोल्न नसकेको बताउँदै नेता मोदीले भने, ‘दरबार हत्या काण्डको विषयमा आजसम्म उहाँले बोल्न सक्नुभएन । कसले हत्या गर्यो ? कहीँ न कहीँ प्रश्न त जन्मिएको छ ।’




प्रतिक्रिया