काठमाडौं, ११ फागुन । काठमाडौंको सुकेधारामा रहेको काठमाडौं ब्राइट ह्युमन रिसोर्स पा.लि.ले वैदेशिक रोजगारीका लागि क्रोएशिया, दुवईलगायतका देशमा पठाइदिने भन्दै २ सय जना युवाहरुलाई ठगेको तथ्य बाहिरिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित युवाहरुले आफूहरु काठमाडौं ब्राइटबाट ठगिएको बताएका हुन् । पीडित युवाहरुको अनुसार क्रोएशिया, दुवईलगायतका देश पठाइदिने भन्दै काठमाडौं ब्राइटले २ सयभन्दा बढी युवाबाट न्यूनतम् ३ लाखदेखि अधिकतम् १६ लाखसम्म ठगी गरेको छ ।
पीडित युवा प्रकाश रावलका अनुसार काठमाडौं ब्राइटका सञ्चालक पासाङ शेर्पा, गजेन्द्रबहादुर तामाङ, गजेन्द्रकी श्रीमती चन्द्रकुमारी तामाङलगायतको ती युवाबाट रकम संकलन गरेका हुन् । अहिले गजेन्द्र फरार छ भने उनकी श्रीमती चन्द्रकुमारीलाई ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतलले ४ लाख धरौटीमा रिहा गरेको छ ।
५० जनाभन्दा बढी पीडितहरुको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा उनीहरुले काठमाडौं ब्राइटले अब आफूहरुको पैसा फिर्ता गर्नुपर्ने बताए । पीडितहरु राजबहादुर तामाङ, दिनेश तामाङ, दिपेन्द्र खत्री, दोङ आले, दीपक परियार, फुरिमाया तामाङलगायतले आफूहरु यो विषयमा प्रहरी प्रशासन, वैदेशिक रोजगार विभागलगायतका निकायमा पुग्दा न्याय नपाएको बताए ।




प्रतिक्रिया