माओवादीले आफ्नो कित्ता क्लियर गरोस्, व्यवस्था बदल्न खोजेको कि सरकार ?: गोकुल बास्कोटा


काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले माओवादी केन्द्रले सत्ता बदल्न खोजेको हो कि व्यवस्था भन्दै प्रश्न गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटाले दक्षिणपन्थी यात्रा हो कि समाजवादी यात्रा हो यो करा माओवादीले भन्नुपर्ने उनको भनाइ छ । “गम्भीरतापूर्वक कुरा उठिरहेको छ, माओवादीले आफ्नो कित्ता क्लियर गरोस् । दक्षिणपन्थी यात्रा हो कि समाजवादी यात्रा हो ? व्यवस्था बदल्न खोजेको कि सरकार बदल्न खोजेको ?,” बास्कोटाले सोधे ।

पूर्व मन्त्रीसमेत रहेका नेता बास्कोटाले गणतन्त्रको विरोध गर्ने काम संसद बैठक सुरु भएदेखि नै जारी रहेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले कांग्रेस र एमालेले गरेको कामलाई देख्न नसक्नेहरुले सरकारको विरोध गरेको र व्यवस्था बदल्ने भाष्य बनाएको टिप्पणी गरे ।

“राजा ल्याउने भनेर एकथरी कराउने, संघर्ष चर्काउने भनेर अर्कोथरी कराउने । प्रतिशोध भयो भनेर डे वानदेखि अर्कोथरी कराएको छ । ठिकै हो यहाँ कराउन पाइन्छ, सरकारका काम मन नपर्न सक्छ । के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ?,” उनले प्रश्न गरे, “दक्षिणपन्थी र वामपन्थी विचार बोक्नेको एउटै चुलो बलेको हो ? सहमति त्यसमा हो । याद गर्नुहोला, त्यो चुलोमा कहिल्यै राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन, तीन पाक्दैन भ्रममा नरहिदिनुहोला ।”