लोकतन्त्र, गणतन्त्रका लागि लडेका र जेलनेल भोगेकाहरुबाटै व्यवस्थामाथि खतरा छः चित्रबहादुर केसी


काठमाडौं, ११ फागुन । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले गणतन्त्र, लोकतन्त्र ल्याउन लडेका र जेलनेल भोगेकाहरुबाटै व्यवस्थामाथि खतरा रहेको टिप्पणी गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले फ्रान्समा पाँच पटकसम्म गणतन्त्र आउने÷जाने गरेको स्मरण गराउँदै लोकतन्त्र, गणतन्त्र आएपछि विभिन्न पार्टीहरु सरकारमा गएर जनतालाई केही पनि दिन नसक्दा व्यवस्थामाथि खतरा बढेको बताएका हुन् ।

‘नेपालमा पनि गणतन्त्र, लोकतन्त्रलाई सुरक्षा छैन है । खतरा को बाट छ भन्दाखेरी लोकतन्त्र–गणतन्त्र विरोधीबाट त हुने नै भयो । लोकतन्त्र– गणतन्त्रका लागि लडेका, जेलनेल खाएका, लोकतन्त्रको कुरा गर्ने, प्रजातन्त्रको कुरा गर्ने, गणतन्त्रको कुरा गर्ने, उनीहरुबाट अझ खतरा छ,’– उनले भने ।

लोकतन्त्र र गणतन्त्रका पक्षधरहरु सरकारमा पुगेसँगै बरु भ्रष्टाचार, राष्ट्रघात र लुटको शृङ्खला बढेको उनको टिप्पणी छ । नेता केसीले अहिले पनि जनमोर्चाको मान्यता लोकतन्त्र–गणतन्त्र रहेको खण्डमा भ्रष्टाचारी र राष्ट्रघातीमाथि जनताले कारबाही गर्न सक्ने बताए । लोकतन्त्र–गणतन्त्र सकिएर फेरि निरङ्कुशता आयो भने भावी पिँढीहरुले लामो संघर्ष गर्नुपर्ने उनले बताए ।

नेता केसीले देशले ८ वटा संसद् र ८ वटा सरकार र प्रदेशमा २० वटा मन्त्री धान्न नसक्ने बताए । संघीयता विदेशीहरुले बोकाएको भन्ने कुरा पुष्टि भएको उनको दाबी छ ।