माओवादीको सरकार बनेपछि पूर्वराजा ज्ञानेन्द्रको सम्पत्ति छानविन हुन्छः नेता मोदी


काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको सम्पत्ति छानविन गरिने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेसम्म नेता र कर्मचारीहरुको मात्रै सम्पत्ति छानविन भएकोमा अब पूर्वराजाले गरेका अनेकौं भ्रष्टाचारको फाइलसमेत खोल्नुपर्ने बताएका हुन् । उनले पूर्वराजा भनेर अब त्यसै छोड्न नहुने बताए ।

‘यो देशमा भ्रष्टाचारको फाइलहरु खोल्दा राजनीतिक दल, कर्मचारीहरुको मात्रै खोलिएको छ । अबको ०८४ मा माओवादी सबैभन्दा ठूलो पार्टी बन्यो भने पूर्वराजाले पनि गरेका कामहरु, हिजो पूर्वराजाले गरेका भ्रष्टाचार, कहाँदेखि कमाए त उनले ? ती फाइलहरु पनि खुल्न सक्छन् । पूर्वराजा भनेर मात्रै हामी छोड्दैनौं । सबै फाइलहरु खुल्न सक्छन्,’– उनले भने ।