हामीलाई माओवादीले भूमिसम्बन्धी अध्यादेश अस्वीकृत गराएको हेर्नुछः कांग्रेस नेता घिमिरे (भिडिओसहित)


काठमाडौं, १२ फागुन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले आफूहरुलाई नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभाबाट भूमिसम्बन्धी अध्यादेश अस्वीकृत गराएको हेर्ने चाहना रहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने एजेण्डा बोकेर राजनीति गरिरहेको माओवादीले उनीहरुकै हितमा आएको अध्यादेश अस्वीकृत गराएको हेर्ने आफूहरुको चाहना रहेको उनले बताए । नेता घिमिरेले भूमिसम्बन्धी अध्यादेश अस्वीकृत गराएको खण्डमा माओवादी भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको हक हितको पक्षमा नरहेको पुष्टि हुने बताए ।

‘माओवादीले यसलाई अस्वीकृत गर्छ भने हेरौंला । उनीहरुको त नारा नै त्यही थियो, हिजो जनयुद्ध भनेको ठाउँमा पनि उनीहरुले यही कुराहरु बोकेर हिँडे । जग्गालाई नम्बरी गराइदिन्छौं, अव्यवस्थितलाई व्यवस्थित गराइदिन्छौं भने । उनीहरुले जंगलको जग्गामा लगेर बसोबास बसाले । भूमिसम्बन्धी अध्यादेशमा नेकपा (माओवादी केन्द्र) ले के गर्छ ? त्यो हामीलाई हेर्नुछ । उसले मत नदिएर अध्यादेश फेल हुँदा हामी दुःखित हुँदैनौं,’– नेता घिमिरेले भने ।

साथै, भूमिसम्बन्धी अध्यादेश स्वीकृत नभएको खण्डमा पनि सरकार तलमाथि नहुने उनको भनाइ छ । नेता घिमिरेले यसअघिका सरकारहरुले पनि अध्यादेश फिर्ता लिएकोबारे स्मरण गराउँदै अध्यादेश फिर्ता वा अस्वीकृत भएको अवस्थामा कानुनको रिक्तता सुरु हुने र त्यसलाई विधेयकमार्फत परिपूर्ति गरिने बताए ।

‘माओवादीले मत नदिए फेल हुन्छ । फेल भएर सरकार पनि गिर्दैन । यो भन्दा अगाडि पनि सरकारले ३ वटा अध्यादेश फिर्ता लिएको छ । केपी ओली प्रधानमन्त्री हुँदाखेरी नै तीन वटा अध्यादेशहरु सरकारले फिर्ता लिएको छ । यो अध्यादेश फिर्ता लिँदैन, फेल हुँदैमा सरकार तलमाथि हुँदैन । त्यो पछि कानुनको रिक्तताको अवस्था आउँछ । सरकारले लगतै नियमित विधेयक ल्याउँछ,’– उनले भने । File Photo/RN