काठमाडौं, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले गणतन्त्र र संघीयताबाट जनताले निकास खोजिरहेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब जनता सडकमा आएर वर्तमान व्यवस्था परिवर्तन हुने बताएका हुन् । उनले उक्त परिवर्तनको अगुवाइ राप्रपाले गर्ने र सबै राजावादी, राष्ट्रवादी र हिन्दु राष्ट्र चाहने समूह र शक्तिहरु यस अभियानमा समाहित हुने बताए ।
अहिले देश कहालीलाग्दो अवस्थामा पुगिसकेको र अब सानोतिनो अप्रेशनले देशको अवस्था सुध्रिने अवस्था नरहेको उनको भनाइ छ । ठूला–ठूला भ्रष्टाचारीहरुले देश नै कब्जा गरिसकेको दाबी गर्दै उनले भने, ‘जुन परिस्थितिमा देश गुज्रिरहेको छ, सानोतिनो अप्रेशन गरेर यो देश सुध्रिने स्थिति छैन । ठूला–ठूला भ्रष्टाचारीहरुले देशलाई कब्जा गरेका छन् । अब हामीले अमुल परिवर्तनका लागि यो व्यवस्था नै परिवर्तन नगरी हुँदैन । त्यो अगुवाइ राप्रपाले गरिरहेको छ । यो आन्दोलन अहिंसामा विश्वास गर्छ, शान्तिपूर्ण आन्दोलन हुन्छ ।’
नेता जबराले देशलाई निकास दिनका लागि राजसंस्थाजस्तो निर्विकल्प व्यवस्था अर्को हुन नसक्ने बताए । उनले आफूहरुले संवैधानिक राजतन्त्रको पक्षमा आफूहरुले अभियान सुरु गरेको बताए । जनताकै छोराछोरीले राजनीति गर्ने र अभिभावकको रुपमा राजालाई राखिने उनको भनाइ छ । राजालाई सडकमा ल्याउने, चुनाव लडाउनेलगायतका गतिविधि गर्न नहुने र आफूहरुले त्यसको परिकल्पनासमेत नगरेको उनले बताए । ‘राजा भनेको सबैको साझा हो । कांग्रेस, एमाले र माओवादीको पनि साझा हो । राजाले राजनीति गरेर तेरो, मेरो गर्ने होईन । राजालाई हामीले सडकमा ल्याएर राजनीति गर्ने विचार छैन । गर्न पनि हुँदैन । अब सडकमा राजालाई ल्याउ, चुनाव लडाउ भन्ने हतास मानसिकता भएकाहरुले बोलेको हो । राजा सबैको नेता हो र अगुवा हो,’– उनले भने ।




प्रतिक्रिया