माधवले समानान्तर गतिविधि गर्नेलाई पुरस्कृत र फरक मत राख्नेलाई कत्लेआम गरेको केन्द्रीय सदस्य विश्वकर्माको आरोप

कांग्रेस र माओवादीकै कारण एकीकृत समाजवादी राष्ट्रिय दल बन्न सकेन, सत्ता होइन सडक रोजौं


काठमाडौं । अन्तर पार्टी निर्देशनबाट राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष पद गुमाएका नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार विश्वकर्माले पार्टी नेतृत्वले फरक मत राख्नेलाई सिध्याउने र समानान्तर गतिविधि गर्नेलाई काखी च्याप्ने काम गरेको बताएका छन् ।

हालै बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना १० बुँदे समिक्षासहितका फरक मत राख्दै उनले नेकपा एमालेबाट विभाजन भएर एकीकृत समाजवादी बन्दा र त्यसपछिको दिनमा भए गरेका कामको बारेमा समिक्षा गरेका छन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएकोदेखि वर्तमान पार्टीको अवस्थासम्मलाई उनले समिक्षा गरेर आफ्नो मत राखेका छन् ।

सत्ता र स्वार्थका लागि जे पनि गर्न तयार रहेका ओलीलाई फालेर देउवालाई स्थापीत गर्नसम्मको काम ठीकै भएपनि त्यसपछिका गतिविधिले पार्टीलाई हानी पुर्याएको उनको निष्कर्ष छ । ‘ओली प्रवृतिवाट मुलुक र संविधान लाई बचाउन सकिएकोमा र त्यसमा मुख्य भुमिका खेलेको पार्टीको हैसियतमा पार्टीको कद वढेकै थियो । तर, जब हामी सरकारमा कति, कुन र को–को भनेर संख्या, मन्त्रालय र मन्त्री छान्न तर्फ लाग्यौं । त्यही दिनवाट हाम्रो क्रान्तिकारी छबि माथी प्रश्न उठ्न थाल्यो’ उनले भनेका छन् ।

‘ओली फाल्न हाम्रो आवश्यकता थियो । र भुमिका खेल्यौं । तब सरकारमा सहभागी नबनेर सडकबाट पार्टी वनाउने संकल्पसहित जनताको एजेण्डा बोकेको भए के हुन्थ्यो ? कस्तो आकर्षण बनेको थियो ? त्यो त भएन । झन सरकारमा सहभागी मन्त्रीहरुको कामले जनता हैन स्वय कार्यकर्ताहरुनै सवै भन्दा वढी निरास बने । त्यसमाथि बन्न लुछाचुडी र छोड्दा रुवावासीको खुला दृश्यले आम वौद्विक जगत र जनतामा हाम्रो विद्रोह पनि सत्ताकै निम्ति थियो भनेर भन्ने स्थिती बन्यो’ उनले भनेका छन् ।

नेता विकले अमेरिकी सहयोग परियोजना एमसीसीमा पनि पार्टी चुकेको बताएका छन् । ब्याख्यात्मक टिप्पणी भन्दै तत्कालीन सत्तारुढ दलले स्वीकार गरेको एमसीसीलाई एकीकृत समाजवादीले पनि स्वीकार गर्नु ठूलो भूल भएको उनको समीक्षा छ । उनले स्थानीय तह र संघीय तथा प्रदेश सभाको निर्वाचनमा पनि पार्टीलाई नेपाली कांग्रेस र माओवादीले विभेद गरेको जिकिर गरेका छन् ।

स्थानीय तह निर्वाचनमा पार्टीको चुनाव चिन्हमा ९ लाख मत आएको तर, संघीय निर्वाचनमा सीट कम दिएको कारण राष्ट्रिय दलसमेत बन्न नसकेको उनको आरोप छ । काँग्रेस–माओवादीको हेपाहा र अपमानपुर्ण व्यवहारवाट पार्टीले शिक्षा लिन नसक्दा त्यो स्थिति आएको उनको निष्कर्ष छ । ‘१९ क्षेत्रमा उम्मेद्वार वनाएर बाँकी सवैमा काँग्रेस–माओवादीको मतदाता वनाईयो । क्षेत्र पहिचानमा कुनै वैज्ञानिक विधि वनाईएन । नेतामुखी अभिमानमा सिमित भयो । मतदाता बन्ने मात्र भन्दा पनि चुनावी अभियानमा भोग्नु परेको निकृष्ट व्यवहार र अपमानले कार्यकर्ता विक्षिप्त थिए । मनोवल करिब सकिएको थियो । त्यस्तो अवस्थामा अरुले ईच्छाएको ठाउमा दिएको मंचवाट मत माग्दा र कसरी समानुपातिक मत धेरै आउन सक्थ्यो । अझै पार्टीको धेरै जिम्मेवार नेताहरु भुगोलमै पुगेनन’ उनले भनेका छन् ।

तत्कालीन पाँच दलीय सत्ता गठबन्धन पार्टीलाई राष्ट्रिय दलको मान्यता नदिलाउनका लागि लागि परेको उनले जिकिर गर्दै भनेका छन् ‘गठवन्धनकै दलहरु पनि हाम्रो विरुद्व खुल्लमखुला लागेको पाईयो । परिणामत ३ प्रतिशत सम्म पनि पुर्याउन नसकेर हाम्रो पार्टीले राष्ट्रिय दलको हैसियत पनि प्राप्त गर्न सकेन । यसले पार्टी कार्यकर्तामा नराम्रोसंग विखलवन्दमा पार्यो । तर, लिएन’ उनले भनेका छन् ।

नेता विश्वकर्माले पार्टी सत्ताबाट मािथ उठ्न नसकेको र मन्त्री पाउनेवित्तिकै सरकारमा जाने रोगले पार्टीलाई गाँज्दै लगेको निष्कर्ष निकालेका छन् भुगोलमा पार्टी खस्कदो अवस्थामा पुगेको तर, माथि वामपन्थी नामाकरण गरेर, कहिले वाम–लोकतान्त्रिक भनेर त कहिले आवश्यकता भनेर जुन गठवन्धनमा भएपनी २ थान मन्त्री लिएर सहभागी भैहाल्ने, कुनै पनि हालतमा सरकार बाहिर वस्न सक्दैन भन्ने मानक तयार गर्नै खालको पार्टी निर्णयहरुले विद्रोही–क्रान्तिकारी पहिचान सत्तालिप्सामा टुंगिदै गएको उनको समीक्षा छ । ‘सडक र संघर्ष भुल्दै गयौं । सदनमा हाम्रो आवाज सुनिन छोड्यो । सरकारमा गएका मन्त्रीहरु पनि खाली नाम दर्ज मात्र गर्न गए–आए । कुनै एउटा पनि सम्झन लाएक काम भएन’ उनले थप भनेका छन् ।

उनले नेतृत्वले फरक मत राखेकै आधारमा अन्य नेता तथा कार्यकर्तालाई छानिछानी पाखा लगाएको गुनासो गरेका छन् । पार्टी अध्यक्ष माधव कुमार नेपालको विरुद्धमा बोलेकै कारण अन्य नेताहरुलाई उपेक्षा गरिएको उनको भनाइ छ । ‘महाधिवेशनले फरक निर्णय गर्छ तर त्यसलाई गुमनाम गराईन्छ । पास भएको कार्यक्रम,विधान र म्याण्डेटलाई अनुकुलतामा प्रयोग गरिन्छ । कसैलाई हराउनकै लागि दुनियाँमा नभएको प्रणाली अन्तर्गत अपुर्ण चुनाव गराईन्छ र छानी–छानी चिट वाडेर कत्लेआम गरिन्छ’ उनले भनेका छन् ।

उनले पार्टीमा समानन्तर गतिविधि गर्नेलाई काखी च्याप्ने र संगठनका लागि निरन्तर खट्ने नेताहरुलाई उपेक्षामा राखिएको आरोप लगाएका छन् । पार्टीले जारी गरेको अपानिका कारण आफू र विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्षले पद गुमाएकोतर्फ उल्लेख गर्दै भनेका छन् चुनावको वेला भेला वोलाईन्छ, आग्रहपुर्ण एकतर्फी वहकावमा रोकिन्छ । गतिविधिहरु गर्न दिईदैन । वैठक,भेला,र क्रियाकलाप माथी अंकुश लगाईन्छ तर महाधिवेशनको सम्मुखमा आफैले आफैलाई नेता घोषणा गर्नै समानान्तर कामलाई रोकिदैन उल्टै पुरस्कृत गरिन्छ । यो सवैको विचवाट कसरी यो आन्दोलनको विकास संभव हुन्छ ? नयाँ लाग्ने त संभावना नै छैन र यही भएकाहरु पनि नेतृत्वको देखिने–वुझिने विभेद र वदलाभाववाट कसरी उत्साहका साथ लाग्न सक्छ ?पछिल्लो पार्टी अपानी अन्यायको बलियो उदाहरण हैन र ?’