पूर्वराजा ज्ञानेन्द्र र पारस शाह नैतिक रूपमा पतन, अब राजसंस्था फर्कने सम्भावना छैन : सुदन किराती


काठमाडौैं, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किराँतीले दलहरुकै चरित्रको कारण पूर्वराजा ज्ञानेन्द्र शाहले फुटानी गर्ने ठाउँ पाएको टिप्पणी गरेका छन् । उनले गणतन्त्रको लागि लडेका दलहरु र त्यसका नेताहरु नै सत्ताको लागि म्युजिकल चेयरमा दरिद्रपूर्ण ढंगले लागेको देखेपछि पूर्वराजा ज्ञानेन्द्र सक्रिय भएको आरोप लगाएका हुन् ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर लेखर्क जनभेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘गणतन्त्रको लागि लडेका दलहरु र यसका नेताहरु सत्ताको म्युजिकल चियरमा दरिद्रपूर्ण ढंगले लागेको देखे, जेलनेल भोगेका नेता भ्रष्टाचारमा लिप्त भएको देखे, त्यही भएर इतिहासको चिहानमा पुरिएको भूतप्रेतले फुटानी लगाउन थाले । तर, यो सम्भव छैन् । विश्व इतिहासले पटक पटक पुष्टि गरिसकेको छ ।’ उनले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस नैतिक रूपमा पतन भएकोले नेपालमा अब राजसंस्था फर्कने सम्भावना नभएको ठोकुवा गरे ।