फोटै खिच्न नमिल्नेगरी प्रचण्डसँग मेरो सम्बन्ध बिग्रिएको होईनः जनार्दन शर्मा


काठमाडौं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने कुरा सत्य नरहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले अध्यक्ष प्रचण्डलाई व्यक्तिगत रुपमा भन्दापनि पार्टीभित्र वैचारिक, सांगठनिक सुधारको विषय उठाएको बताएका हुन् । उपमहासचिव शर्माले अहिले सञ्चालन भइरहेको तराई मधेश अभियान पनि आफूले उठाएको एजेण्डाअनुसार नै रहेको बताए ।

हिजो (सोमबार) झापामा अध्यक्ष प्रचण्डसँग फोटो खिचेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘पार्टी अध्यक्षसित मेरो बोलचाल बन्द भएको पनि होईन, बिग्रिएको पनि होईन । वैचारिक बहसहरु, छलफलहरु हुनुले सम्बन्ध बिग्रिने होईन नि । पार्टीभित्रको वैचारिक छलफल, पार्टीलाई कसरी राम्रो बनाउने ? अझ कसरी व्यवस्थित गर्ने, कसरी विधिमा चलाउने, पार्टीभित्रको निर्वाचन प्रक्रियालाई कसरी लैजाने, जनताको कुरा कसरी सुन्ने भनेर नै मैले विषय उठाएको थिएँ । आज तिनै विषयको आधारमा, केन्द्रीय समितिले गरेका निर्णयहरुको आधारमा आज यो अभियान पनि त्यहीअन्तर्गत चलिरहेको छ । सम्बन्ध नराम्रो थियो भन्ने होईन । वैचारिक बहसहरु निरन्तर भइराख्छन्, गरिराख्ने कुरा हो । भोलि पनि हुन्छ, आजपनि हुन्छ । पार्टी राम्रो बनाउने कुरामा, कमजोरी सच्याउने कुरामा उठाइएको विषयमात्रै थियो । अरु फोटै खिच्न नमिल्नेगरी सम्बन्ध बिग्रिएको होईन ।’

अब माओवादी नेतृत्वले जनताले विश्वास गर्नेगरी आफूलाई बदल्नुपर्ने अवस्था आएको उनले बताए । माओवादी नेतृत्वको टिम रुपान्तरण भयो र आफूहरु रुपान्तरण भएको खण्डमा जनताले विश्वास गर्नेमा दुईमत नरहेको उनले बताए । उमहासचिव शर्माले अहिले जनताको घरदैलोमा जानुको कारण पनि जनतामा विश्वासको वातावरण बनाउनु नै रहेको बताए । उनले राष्ट्रको समस्यालाई समाधान गर्ने हैसियत माओवादीले राख्यौं भने जनताले विश्वास जनताले विश्वास गर्ने बताए । यद्यपि माओवादीले देश र जनताको हितमा काम गरिरहेको उनको दाबी छ । उपमहासचिव शर्माले आफूहरुले संविधान देश र जनताकै पक्षमा बनाएको र जनताकै हितको लागि भनेर देशबाट लोडसेडिङ मुक्त गरिएको बताए ।

‘हामीले बनाएको संविधान हुनेखानेको लागि थिएन । यो देशका सबै नागरिकका लागि थियो र मूलतः उत्पीडित वर्ग, क्षेत्र, जाति, लिङ्ग, समुदायको लागि थियो । हामीले बनाएको संविधान सामन्तवादबाट पिल्सिएकाहरुको लागि थियो । त्यसकारण हामीले ठूलाका लागि गरेको होईन । लोडसेडिङ अन्त्य गर्ने कुरा जनताको लागि थियो,’– उनले भने । File Photo/RN