काठमाडौं । राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा आफूहरुलाई हेपेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै ढकालले सो आरोप लगाएका हुन् ।
‘११ लाख पवित्र मत प्राप्त गरेर चौथो दल बनेको पार्टीलाई नाति नातिना भनिन्छ । वडाध्यक्षका हैसियत नभएका भनिन्छ । प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षलाई साढे सात हजार मतान्तरले ३४ हजार भन्दा धेरै मत ल्याएर निर्वाचित भएको व्यक्ति म यहि छु । खबरदार ! जनमतको यसरी उपेक्षा गर्न पाईंदैन,’ उनले भने ।
सांसद ढकालले अहिले रास्वपाको संख्या नपुगेर चुपलागेको बताउँदै संख्या पुगेको दिन अकुत सम्पति कमाउनेको छानबिन गरि राज्यको ढुकुटीमा ल्याउनेसमेत उद्घोष गरेका छ्न। उनले ०८४ को चुनावमा त्यो संख्या पुर्याउने दाबी गरे ।
‘जतिपनि विधिका शासनका कुराहरु छन् । हामीले उठाएका भ्रष्टाचार विरुद्धका आवाजहरु छन् । अब यो अभियान एउटालाई छेकेर छेकिदैन । संख्या पुगेन, संख्या पुगेको दिन अकुत कमाएर सम्पत्तिको मादकतामा मस्त रमाएर बेहोस भएकाहरुलाई ब्युझाउनेछौं । राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो । राजाको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो, यो ३५ वर्षमा अनेकौं काण्डहरु मच्चाएर नागरिकको रगत पसिना चुसेकाहरुको अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउँछौं । ल्याउँछौं, ८४ मा संख्या पुर्याउँछौं ।’
उनले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोधको आधारमा मुद्दा दायर गरिएको पनि दाबी गरे । सहकारी ठगी छानविन गर्न बनेको संसदीय विशेष समितिले ‘ऋण लिनमा रवि लामिछानेको प्रत्यक्ष संलग्नता छैन’ भनेको उनको दाबी छ । लामिछानेलाई जस्तैगरी ०४७ यताका नेताहरुको छानविन गरिने हो भने उनीहरुले नेपालमा टाउको लुकाउने ठाउँ नै नरहेको उनको टिप्पणी छ ।
‘संसदीय विशेष समितिको प्रतिवेदन माननीयज्यूहरुले अलि अध्ययन गर्नुभएको रहेनछ कि जस्तो लाग्यो । ४४९ नम्बरको पेज हेर्नुहोला । त्यहाँ के लेखेको छ ? ऋण लिनमा रवि लामिछानेको प्रत्यक्ष संलग्नता छैन भनिएको छ । गोर्खा मिडियामा आएको रकम परिचालन गर्ने सन्दर्भमा त्यहाँ कारबाही गर्नु भनिएको छ, प्रचलित कानुनअनुसार भनिएको छ । प्रचलित कानुनअनुसार भनेको कम्पनी ऐन २०६३ हो । कसरी के तरिकासँग मुद्दा लगाइयो ? सम्पत्ति सुद्धीकरण, कतै ठगी यो के हो ? ०४७ यताका लाई हाम्रो पार्टी सभापतिजस्तैगरी होईन, अलिकति अनुसन्धान प्रक्रियामा ल्याउँ त । तपाईँहरुको यो देशमा टाउको लुकाउने ठाउँ छैन,’– उनले भने ।
साथै, प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्न नसुहाउने उनको तर्क छ । वर्तमान सरकार भ्रष्टाचारको महाकाण्डका फाइलहरु बन्दगर्ने अभिप्रायले बनेको उनको आरोप छ । उनले भने, ‘यो उजुरीको चाङ र तथ्याङ्कको चाङमा बसेर विधिको शासन, भ्रष्टाचार उन्मुलन र सुशासनको कुरा गर्न सुहाउँदैन । मैले भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्दा मतदाताले पनि पत्याउन छोडेका छन्, पत्याउँदैनन् ।’




प्रतिक्रिया