अपराधमा संलग्न भएकाहरु हाबी हुँदा एमाले छाडेँः पूर्वप्रहरी आईजीपी खनाल (भिडिओसहित)


काठमाडौं, १४ फागुन । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले एमालेसँग विचार नमिलेको कारण आफूले पार्टी परित्याग गरेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विगतमा प्रहरीमा हुँदा मुद्दा मामिला उठाएको र भिडेको मान्छेहरु पार्टीमा हाबी भएपछि आफू त्यहाँ बस्न नसकेको बताए । उनले पेशागत रुपमा प्रहरीमा रहँदा आफूले कुनै व्यक्ति र दल नहेरी काम गरेको बताए ।

‘यो पार्टीभित्र अनेकथरीका मानिसहरु छन् । कोही गुण्डा आउला, कोही नचाहिने मानिसहरु आउला, अनेकथरी व्याकग्राउण्ड भएका मानिसहरु राजनीतिमा आइरहेका छन् । हामीलाई त्यति सुट पनि हुँदैन, त्यति सुट पनि भएन, अर्थ बुझ्नुभयो होला । हिजो प्रहरीमा बस्दाखेरी प्रहरीको काम गर्ने हो । पेशागत रुपमा, अपराध र अपराधमा संलग्न भएकाहरुसँग त्यहाँ त भिड्यौं, लड्यौं । मुद्दा मामला पनि उठाइयो यिनका विरुद्धमा । कसैप्रति बायस भएर त गरिएको होईन । तिनै मानिस हाम्रै अगाडि आएर अलि प्रभावकारी रुपमा देखापर्दा हामी पनि सक्दोरहेनछौं । सकिँदैन, त्यो पनि हो,’– एमाले छाड्नुको कारण सुनाउँदै उनले भने ।

पार्टीभित्र आमन्त्रित जस्तो भएर बस्नु परेको उनले बताए । आफूले जनतामाझ गएर काम गर्न खोजेको भएपनि एमालेले कुनै जिम्मेवारी नै नदिएको उनको भनाइ थियो । उनले भने, ‘हामी बाहिरबाट आएको, आमन्त्रित जस्तो भइयो । प्रत्यक्ष रुपमा काम गर्ने नै मेरो आशय, मेरो चाहनाहरु थिए । कुरा सामन्य छ, यसमा धेरै ठूलो रहस्य छैन । प्रत्यक्ष रुपमा जनताको सेवा गर्ने, सेवामा त जानुपर्यो नि त । बसिराखेर फेरि चुनाव लड्न जाने भनेको त माग्न गएको जस्तो, केही गर्नको लागि गएको हो ।’

साथै, अहिले आफू नयाँ पार्टी खोल्ने र अर्को कुनै पार्टीमा जाने तयारीमा नरहेको पनि उनले बताए ।