विराटनगर, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू अहिले सरकारको खेलमा नरहेको स्पष्ट पारेका छन् । उनले आफूहरु अहिले जनताको बीचमा फर्किएको र आफ्नै वर्गतिर रमाएको बताएका छन् । विराटनगरमा आज (बुधबार) आयोजित पत्रकार भेटघाटमा दाहालले यस्तो बताएका हुन् ।
उनले भने,‘सरकार मैलेभन्दा पनि सरकारमा भएका नेताहरूले नै ढल्छ भनेर भन्ने गरेको कुरालाई बेलाबेलामा संकेत गर्ने गरेको हुँ । अर्को, किन मैले ढल्छ भनेको हो भने यो सरकार जसरी गठन भएको छ, त्यो नै अस्वाभाविक छ, अप्राकृतिक छ । त्यसकारण आफ्नै बोझले सरकार ढल्छ भनेको हो । फाइदाको कुरा भन्नुहुन्छ भने उनीहरू ०८४ सम्म बसे पनि हामीलाई कुनै टेन्सन छैन । हामी जनताको बिचमा जान्छौँ । हाम्रो वर्गतिर, हाम्रो मुद्दा, सहिद परिवार, बेपत्ता परिवारतिर फर्किएका छौँ । त्यसले एउटा ऊर्जा पैदा भएको छ । त्यसकारण हामी सरकार अहिले ढाल्ने र बनाउने खेलमा चाहिँ बिल्कुलै छैनौँ । पत्रकार साथीहरूले यो कुरामा विश्वस्त भएर भनिदिए हुन्छ । माओवादी सरकारको खेलमा छैन ।’
यद्धपी उनले सरकार नै ढाल्न नसक्ने हो र ? भनेर सोध्दा अहिले धेरै कुरा किन भन्नु भन्दै केही समय पर्खनुपर्ने संकेत गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले कसैले उक्साएर बोलेको भन्दै आफूले त्यतिधेरै महत्व नदिएको स्पष्ट पारे ।




प्रतिक्रिया