पूर्वराजालाई मैले कुनै महत्त्व दिएको छैन, उनलाई कसैले बोल्न लगाएका होलान्ः प्रचण्ड


काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै महत्व नदिएको बताएका छन् । आज (बुधबार) प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको विचारलाई आफूले कुनै महत्व नदिएको बताएका हुन् ।

जनताको चेतना, आन्दोलन र परिस्थिति धेरै अगाडि बढिसकेको भन्दै उनले अब देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए । पूर्वराजा ज्ञानेन्द्रलाई कसैले बोल्न लगाएको हुनसक्ने प्रचण्डको भनाइ छ । ‘नजिक बसेर केही पाउँला भन्ने हिसाबले केही बोल्न लगाएका होलान् । त्यसको कुनै अर्थ छैन,’– प्रचण्डले भने ।