काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीले बुद्धिजीवीहरुको बुद्धिको प्रयोग गर्नै नसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ अन्तर्गत विराटनगरमा कर्मचारी, बुद्धिजीवी शिक्षक, प्राध्यापक, कानुन व्यवसायीहरुको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘म त आत्मालोचना गर्दै हिँड्ने मान्छे हो । पार्टीको तर्फबाट म के आत्मालोचना गर्न चाहन्छु भने– हामीले बुद्धिजीवीहरुको बुद्धिको प्रयोग नै गर्न सकेको छैनौं । यो पार्टीले सुधार गर्नुपर्ने कुरा हो,’– उनले भने ।
माओवादीले विज्ञहरुसँग परामर्श नै नगरेको र सुझाव नलिएको बताउँदै उनले थपे,‘जनस्वास्थ्य क्षेत्रका विज्ञहरुले दिने, जनताको उपचार कसरी गर्ने होईन कि कसरी स्वस्थ बनाउने भन्ने तपाईँहरुबाट लिएको भए, त्यो अनुसारको नीति हामीले बनाएको भए । कानुन क्षेत्रका साथीहरुसँग कानुनको कार्यान्वयन कसरी गर्ने, पालना कसरी गर्ने भन्ने विषयमा तपाईँहरुसँग सुझाव लिएको भए प्रयोग हुने थियो । प्राध्यापन क्षेत्रका साथीहरुले क्याम्पस किन खाली हुँदैछ, कहाँनेर त्रुटि भयो शिक्षामा ? कसरी त्यसलाई सच्याउन सकिन्छ भन्ने सुझाव लिएर प्रयोग गरेको भए सायद त्यो हाल हुन्थ्यो होला ।’
साथै, पछिल्लो समय पार्टीभित्रका विभिन्न संगठनको लक्ष्य, उद्देश्य र कामको बारेमा चर्चा कम हुनथालेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले पार्टीको कमजोरीका कारण यस्तो भइरहेको बताए । अहिले देशका सबै पार्टीहरुले आफ्नो लागि राजनीति गरिरहेको जस्तो देखिएकाले त्यो भाष्य चिर्नका लागि अभियान सञ्चालन गरिएको पनि बताए । अब राजनीति आफने लागि नभएर जनताको लागि हुनुपर्ने उनको भनाइ छ । File Photo/RN




प्रतिक्रिया