सेनाले चाह्यो भने एकभन्दा राजसंस्था स्थापना हुनसक्छ, नारायणहिटी सङ्ग्रहालय ६ घण्टामा राजदरबार बन्छः पूर्वजर्नेल डा. बस्न्यात

प्रचण्ड राजाको दया, मायामा हुर्किएका हुन्, राजसंस्था विरोधी होईनन्


काठमाडौं, १५ फागुन । नेपाली सेनाका पूर्वजर्नेल डा.प्रेमसिंह बस्न्यातले सेनाले चाह्यो भने एक भन्दा राजसंस्था स्थापना हुनसक्ने टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सेनाले चाह्यो भने एक भन्दा राजसंस्था स्थापना हुने र ६ घण्टाभित्र नारायणहिटी संग्रहालय राजदरबारमा परिणत हुने बताएका हुन् । उनले गणतन्त्रले केही गर्न नसकेको कारण अहिले आम मानिसमा वितृष्णा रहेको बताए । ‘सेनाले चाह्यो भने एकभन्दा राजसंस्था स्थापना हुनसक्छ । २४ घण्टा होईन, ६ घण्टामा त्यो म्युजियम राजदरबार हुनक्छ । जनताले चाहेका छन् यो कुरा । मलाई कतिले फोन गरेर भन्छन्,’– उनले भने ।

साथै, सेनाले चाहेको खण्डमा ‘सैन्य कू’ समेत हुनसक्ने उनले बताए । तर, सेनाको नजिर त्यस्तो नरहेको बताउँदै उनले राजसंस्था भने सेनाले चाहेको खण्डमा ताली पिटेर आउने बताए । ‘नेपाली सेनाले चाह्यो भने सैन्य कू हुनसक्छ । तर, हाम्रो त्यस्तो नजिर छैन । सेनाले चाह्यो भने जसरी फालियो ताली पिटेर, त्यसरी नै ताली पिटेर फर्किन सक्छ,’– उनले भने ।

साथै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले पनि राजाविरोधी नरहेको उनले बताए । उनले प्रचण्ड राजाको दया, मायामा हुर्किएको पनि दाबी गरे । तत्कालीन समयमा गिरिजा प्रसाद कोइरालाले माओवादी मार्न आदेश मागेपछि वीरेन्द्रले नमानेको उनले सुनाए । ‘प्रचण्ड राजाविरोधी होईन । राजाको दया, मायाले हुर्किएर माओवादी भएका यिनीहरु । राजा विरेन्द्रले समयमा हान्न दिएको भए हामी उतिखेरै सिध्याइदिन्थ्यौं । गिरिजाले त मार्न खोजेका थिएन नि त । सेना परिचालन गर्न हुँदैन भन्दा–भन्दा यी प्रचण्ड भए अहिले,’– उनले भने । File Photo/RN