माओवादी सरकार गिराउने र बनाउने चक्करमा छैनः देवेन्द्र पौडेल (भिडिओसहित)


काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले अहिले आफूहरु सरकार गिराउने र बनाउने चलखेलमा नरहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताले आफूहरुलाई सरकारमा जान नहुने सन्देश दिएकाले त्यसैअनुसार अगाडि बढ्ने बताएका हुन् । उनले भने, ‘यो भ्रम नहोस्, हामी सरकार गिराउने चक्करमा लागेका छैनौं । हामी जनतामा जान्छौं । हामी यो सरकार गिराउने, बनाउने चक्करमा केही समय लाग्दैनौं । जनताको पनि त्यही सन्देश छ हामीलाई ।’

साथै, फरक प्रसंगमा उनले नेपालमा राजसंस्था पुनर्स्थापना असम्भव कुरा रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अहिले राजसंस्थाको एजेण्डा बोकेर हिँडिरहेको स्मरण गराउँदै उनले यदि त्यस्तो परिस्थिति बनेको खण्डमा सबै गणतन्त्रवादीहरु एक ठाउँमा उभिने बताए । ‘राजसंस्था ल्याउने कुरा हावादारी कुरा हो । त्यो कुनैपनि हालतमा सम्भव छैन । राजसंस्था ल्याउने कसैले प्रयत्न गर्छ र त्यतातिर जान्छ भने गणतन्त्र पक्षधरहरु सबै एकैठाउँमा हुन्छन् । अरु कतिपय कुराहरुमा रहेको विवाद पनि स्थगन गरेर राजलाई फेरि स्थापित गर्ने परिस्थिति बन्यो भने फेरि एक ठाउँमा होलान् नि । त्यो उहाँहरुको आफ्नो धारणा होला । तर, सम्भव छैन,’– उनले भने । File Photo/RN