प्रायोजित रुपमा प्रचार गरेर कुलमानले आफूलाई देवत्वकरण गरे, सरकारले हटाउन सक्छः एमाले नेता मैनाली (भिडिओसहित)


काठमाडौं, १५ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रयोजित रुपमा प्रचार गरेर आफैंलाई देवत्वकरण गरेको आरोप लगाएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल विद्युत प्राधिकरणका एमडी घिसिङको गतिविधि सान्दर्भिक नरहेको बताएका हुन् । उनले कुलमानको त्यस्तै गतिविधिको परिणामस्वरुप अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि मुद्दा रहेको बताए । कुलमानले सरकारको निर्देशन नमानेको, नियम, कानुन र संविधान नै उल्लङ्घन गरेर काम गरिरहेको उनको आरोप छ ।

‘उहाँले जुन काम गर्नु भएको छ, यो विषयमा अख्तियारमा पनि मुद्दा रहिरहेको सन्दर्भ हो । विद्युत प्राधिकरण नेपाल सरकारको मातहतमा रहेको संस्था हो । तर, उहाँले सरकारको निर्देशनहरुलाई पनि नमान्ने र प्रायोजित रुपबाट प्रचार गर्ने, आफूलाई देवत्वकरण गर्ने र सरकारभन्दा पनि माथि जाने उहाँको जुन गतिविधिहरु रहे, यो सान्दर्भिक रहेन । कुनैपनि व्यक्ति नियम, कानुन र संविधानको मातहत नै रहन्छ । उहाँको असान्दर्भिक गतिविधि रहेको स्पष्ट हो,’– उनले भने ।

साथै, कुलमानमा राम्रा कामजति आफूले गरेको र नराम्रा कामहरु सबै सरकारले गरेको भन्ने शैली रहेको र त्यो शैली रूचीकर नरहेको उनको भनाइ छ । सरकारले चाहेको खण्डमा कुलमानलाई हटाउन सक्ने उनको चेतावनी छ । उनले भने, ‘सरकारले नियुक्ति गरेको हो । सरकारले कसैलाई नियुक्त गर्छ भने हटाउने अधिकार पनि छ ।’

साथै, प्रतिपक्षी दलहरुले प्रायोजित रुपमा अध्यादेशको विरोध गरेको उनको दाबी छ । भूमिहीन, सुकुम्बासी जनतालाई जमिनको मालिक बनाउन भूमिसम्बन्धी अध्यादेश लाइएको बताए । विधेयकको सन्दर्भमा सोच्नुपर्ने कुनै कारण नरहेको उनले बताए ।