बर्जु तालको संरक्षण र विकासका लागि अध्यक्ष प्रचण्डसँग माग


काठमाडौं, १५ फागुन । चिमडी बर्जु ताल सिमसार विकास तथा संरक्षण समिति सुनसरीले पूर्वी नेपालकै ठूलो मध्येको एक बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकासका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेको छ। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा रहेका प्रचण्ड तालको अवलोकन गर्न पुगेको अवसरमा समितिले तालको संरक्षण र विकासका लागि ध्यानाकार्षण गराएको हो ।

कुनै बेला तीन सय बिघामा फैलिएको ताल २०२५ सालको सर्वे नापीपछि १५२ बिघा कायम भएको र तालको जग्गा हत्याउन सकिन्छ कि भनेर भूमाफियाहरु लाग्ने गरेको समितिको भनाइ छ । भारतको बिहारबाट दश किलोमिटर नजिक रहेको ताललाई पर्यटकीयस्थल बनाउन सके भारतबाट पनि पर्यटक आउन सक्ने र माछा पालनबाट वर्षेनी ६÷७ करोडको आयार्जन गर्न सकिने सम्भावना रहेको भन्दै समितिले आवश्यक बजेटको व्यवस्था गरिदिन पनि प्रचण्डसँग आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले पर्यटन विकास, पर्यावरण संरक्षण र स्थानीय रोजगारी विकास गर्नको बर्जु ताल सिमसार विकास तथा संरक्षणका लागि पार्टीले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।