आयोजक लिखु ‘ए’ लाई हराउँदै पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी ‘ए’ लाई


काठमाडौं । ओखलढुंगाको नर्मदेश्वरमा सम्पन्न पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी चम्पादेवी टीम ‘ए’ ले जितेको छ । उपाधिसँगै चम्पादेवीले नगद १ लाख ५५ हजार ५५५ का साथमा शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

चम्पादेवी ‘ए’ ले आयोजक लिखु गाउँपालिका टीम ‘ए’ लाई ३-१ सेटमा पराजित गर्दै उपाधि जितेको हो । चम्पादेवीसँग पराजित भएको लिखु ए ले उपविजेता हुँदै नगद ९९ हजार ९९९ का साथमा शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै तेश्रो स्थानका लागि भएको खेलमा रामेछाप नगरपालिकाले लिखु तामाकोशी गाउँपालिकालाई पराजित गर्दै उपाधि जितेको छ । खेलमा रामेछाप नगरपालिकाले लिखु तामाकोशी गाउँपालिकालाई ३-१ सेटमा नै पराजित गरेको हो । तेश्रो बनेको रामेछाप नगरपालिकाले नगद ५५ हजार ५५५ का साथमा शील्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । रामेछाप नगरपालिकासँग पराजित भएको लिखु तामाकोशी गाउँपालिकाले भने नगद २२ हजार २२२ सहित मेडल र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा वेस्ट सेटर रामेछाप नगरपालिकाका हेमन्त मगर, बेस्ट स्पाइकर लिखु गाउँपालिकाका प्रकाश पौडेल, बेस्ट सर्भर लिखु तामाकोशी गाउँपालिकाका रोशन मगर, बेस्ट डिफेन्डर चम्पादेवी गाउँपालिका टिम ‘ए’ का शीबराम मगर, बेस्ट ब्लकर लिखु गाउँपालिका आयोजक टिम ‘ए’ का तेज बहादुर खड्का (इकु) घोषित भए ।

उत्कृष्ट भएका प्रत्येक खेलाडीले नगद २५०० का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै प्रतियोगितामा चम्पादेवी गाउँपालिका टिम ‘ए’ का खेलाडी शसित मगर उत्कृष्ट खेलाडी घोषित हुदै नगद ५ हजार ५०० का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको विजेता टीम तथा खेलाडीलाई प्रमुख अतिथि राज्यव्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका सांसद रामहरि खतिवडा कार्य ब्यस्तताले काठमाडौँ फर्किएपछी गाँउपालिका अध्यक्ष अशोक कुमार कार्की, उपाध्यक्ष अस्मिता थापा लगायतका अतिथिहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

‘पुर्वाधार तथा पर्यटन विकासका लागि नर्मदेश्वर महोत्सव’ भन्ने मूल नाराका साथ फागुन १० गतेदेखि १४ गतेसम्म ५ दिन ऐतिहासिक नर्मदेश्वर महोत्सव सञ्चालन भएको थियोे । महोत्सवको अवसर पारेर खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भएको थियोे ।