काठमाडौं, १५ फागुन । नेपाली सेनाका अवकाशप्राप्त जर्नेल डा.प्रेमसिंह बस्न्यातले नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको लगानीमा पाथीभरामा केबलकार बनाउन लागिएको आरोप लगाएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले योगेश पर्यटनमन्त्री हुँदा भ्रमण वर्ष २०२० को रकम हिनामिना गरेर त्यहाँ लगानी गरेको आरोप लगाए । पाथीभरामा अहिले राज्य आतङ्क भइरहेको बताउँदै उनले त्यो तत्काल बन्द गरिनुपर्ने बताए ।
‘योगेश भट्टराई २६ लाखको जग्गा किनेर ४० करोडमा बेच्ने, आम नेपालीहरु यो योगेश भट्राई पर्यटनमन्त्री हुँदा भ्रमण वर्ष २०२० मा राज्य अर्बौं पैसा खर्च गरेको छ । त्यतिखेर बजेट गयो । योगेश भट्टराई नामको व्यक्तिले के गरेको थियो, त्यो बजेट सोध्नुस् । यसरी जनता मार्न पाइन्छ ? राज्य आतङ्क हो यो । योगेश भट्टराई नामको नाफामूलक व्यक्तिले गरेको आतङ्क हो यो । जनताले चाहँदैनन् भने त्यो बन्द हुनुपर्छ,’– उनले भने, ‘पाथीभरामा केबलकार बनाउने नाममा राज्यले आतङ्क गरेको छ । यो देशमा कम्युनिष्टको नाममा, सर्वहाराको नाममा ज्यानमारा र हत्याराले नेतृत्व गरेर जनतामाथि आतङ्क फैलाइएको छ । पाथीभरा मेरो आस्था हो, गुरुङ, लिम्बु, बाहुन, क्षेत्री सबैको आस्था हो । तर, स्थानीयको स्वामित्व हुन्छ ।’
साथै, उनले व्यवसायी चन्द्र ढकाललाई आफ्नै हैसियत सम्झिन उनले आग्रह गरे । व्यवसायी ढकाललाई उनले ‘टुप्पाबाट पलाएको साहु’ को संज्ञा दिँदै नागरिकलाई सम्मान गर्न सिक्न आग्रह गरे । प्रचण्ड र केपी ओलीको पैसाले व्यवसायी ढकालले व्यवसाय विस्तार गरिरहेको उनको आरोप छ । व्यवसायी ढकालमाथि कुनैदिन छानविन हुनसक्ने उनको चेतावनी छ । केबलकार निर्माण कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए ।




प्रतिक्रिया