दर्शकसँग माफी माग्दै एञ्जिलाले भनिन्- खेलाडीहरूलाई गाली नगर्दिनुस्, सबैको साथ पाए एकदिन अवश्य जित्नेछौं


काठमाडौं । राजधानीमा सम्पन्न फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा उपविजेतामा सीमित बनेपछि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले माफी मागेकी छन् ।

बिहीबार सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै एञ्जिलाले माफी मागेकी हुन् । बुधबार भएको खेलमा नेपाल म्यानमारसँग २० ले पराजित हुँदै १२औं पटक उपविजेतामा सीमित बनेको थियो ।

हारपछि सामाजिक सञ्जालमा खेलाडीको आलोचना भएपछि एञ्जिलाले त्यसो नगर्न भनेकी छन् । ‘फेरि पनि, हामी फाइनलमा पुग्यौं तर चुक्यौं । कप्तानको रूपमा, म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु’ उनले भनेकी छन् ‘मैदानमा उपस्थित १६,००० दर्शकहरू र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरू—हामी तपाईंहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन सकेनौं’।

एञ्जिलाले म्यानमार हामीभन्दा धेरै बलियो टोली भएको पनि बताएकी छन् । ‘ पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं। तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ। यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ। त्यसैले, आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन्। यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ’ उनले भनेकी छन् ।

पछिल्लो वर्षमा महिला टिमले तीन वटा फाइनल खेलेको स्मरण गर्दै एञ्जिलाले यदि यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन अवश्य उपाधि उचाल्ने विश्वास लिएकी छन् । ‘हामीलाई मात्र तपाईंहरूको माया, साथ, र समर्थनको खाँचो छ। यो प्रतियोगिता आयोजना गरी हामीलाई अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ ९एन्फा०का पदाधिकारी, सम्पूर्ण विभाग, र टिम स्टाफ सबैलाई धेरै धेरै धन्यवाद । कृपया खेलाडीहरूलाई आलोचना नगर्नुहोस्। हामी सबैले आफ्नो सक्दो मेहेनत गरेका छौं। नतिजा जस्तो भए पनि तपाईंहरूको समर्पण प्रशंसनीय छ१ निरन्तर अगाडि बढ्नुहोस’ उनले भनेकी छन् ।