‘नो केबलकार’ पक्षधरले सार्वजनिक गरे ६ बुँदे माग, केबलकार निर्माण कार्य तत्काल बन्द गर्न चेतावनी


काठमाडौं, १५ फागुन । मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति र पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिले पाथीभरा (मुक्कुम्लुङ) मा केबलकार निर्माण कार्य तत्काल बन्द गर्न सरकारलाई आग्रह गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने, गिरफ्तार नागरिकहरु तत्काल रिहाइ हुनुपर्नेलगायतका माग सार्वजनिक गरेका हुन् ।

साथै, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था राज्यले गर्नुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने, राज्य आतङ्क बन्द हुनुपर्ने र मुक्कुमलुङ क्षेत्रबाट प्रहरी र निर्माण सामाग्री फिर्ता गरिनुपर्ने उनीहरुको माग छ ।

किरात याक्थुम चुम्लुङको उपाध्यक्ष गोविन्द मादेनले सरकारले आफूहरुको मागलाई बेवास्ता गरे आन्दोलनलाई थप सशक्त बनाउने बताए । यी मागहरुमा विभिन्न राजनीतिक दल र संघ÷संस्थाको समर्थन रहेको छ ।

परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामी, बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवान, पहिचानवादी नेता खगेन्द्र मादेन, गोविन्द आङ्बो, राम मादेनलगायतले केबलकार निर्माण कार्य खारेज गरिनुपर्ने बताए ।

‘नो केबलबार’ पक्षधरलाई राज्यले २०८१ कात्तिक २३ गते, माघ १२ गते र फागुन १० गते दमन गरेको थियो । सो क्रममा घाइते भएकाहरु अहिले उपचाररत छन् भने १८ जना बेपत्ता र थुनामा रहेको बताइएको छ ।