प्रकृतिले नेपाललाई दुनियाँको समृद्ध राष्ट्र हुने बरदान दिएको थियो, यहाँका नश्लवादी शासकले लुटेः राजेन्द्र महतो


काठमाडौं, १५ फागुन । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रकृतिले नेपाललाई दुनियाँको समृद्ध राष्ट्र बन्ने बरदान दिएको भएपछि यहाँका नश्लीय चिन्तन भएका शासकहरुले देश लुटेको टिप्पणी गरेका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नश्लीय चिन्तन भएका शासकहरुले नेपाललाई दुनियाँको कंगाल राष्ट्र बनाएको बताए । उनले पृथ्वीनारायण शाहले साझा फूलबारी भनेको देशलाई नेताहरुले एकल फूलबारी बनाउन खोजेको आरोप लगाए ।

‘नेपाललाई कस्तो नेपाल बनाए ? यो नश्लवादी शासकले हाम्रै शासन, हाम्रै बहुदलीय व्यवस्थामा नश्लवादीहरुले शासन गर्दा कस्तो नेपाल बनाए । कुन नेपाल बन्यो आज ? आज ग्रे–लिस्टमा पर्नुपर्ने, कसैले अधिकार, पहिचान पाउन नसक्ने, दुनियाँको कंगाल राष्ट्र बन्नुपर्ने, साह्रा नौजवान देश छोडेर भाग्नुपर्ने, यस्तो नेपाल बनाए । यी शासकले, जसले शासन गर्यो ३५ वर्ष, ९० प्रतिशत जनताको मत लिने यी कांग्रेस, एमाले, माओवादीले पालैपालो देशलाई शोषण गरे, लुटे, दुईवटै हातले लुटे । काण्डैकाण्ड भएको छ देशमा । यही कांग्रेस, एमाले र माओवादीका नेताहरुले गरेको हो । देश बेच्नेदेखि लिएर साह्रा कुकुर्म यिनीहरुले गराए,’– उनले भने ।