ओली सरकार बनेपछि भ्रष्टाचारले चरम सिमा नाघ्यो, अब समर्थन फिर्ता लिन्छौं : उपेन्द्र यादव


काठमाडौं, १६ फागुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको कांग्रेस र एमालेको सरकारलाई राम्रो काम गरोस भनेर समर्थन गरेको भएपनि यो ७ महिनामा एउटा सिन्कोपनि भाँच्ने काम नभएको आरोप लगाएका छन् ।

केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र झनै चौपट भएको यादवको आरोप छ । अहिलेको सरकार गठन भएपछि अराजकता, भ्रष्टाचार र कमिशनतन्त्र चरम सिमामा पुगेको पनि यादवको दाबी छ । आज (शुक्रबार) विहान प्राइम टिभीसँगको कुराकानीमा यादवले यस्तो आरोप लगाएका हुन् ।

उनले भने-“विदेशी राष्टहरुले पनि नेपाललाई ग्रे लिष्टमा राखिसके, नेपाललाई अनुदान दिनु, ऋण दिनु सबै बेकार हो, सबै भ्रष्टाचार गर्छन, खान्छन् भनेर भनिसकेको अवस्था हो । अहिले हामीले सरकारलाई भनेका छौं, ईट इज टु मच, ईट ईज टु मच, अब इनफ अफ इज इनफ भन्ने बेला आइसक्यो ।”

आफ्नो दल अलिक उदार रहेको यादवको दाबी छ । कांग्रेस र एमाले मिलेर सरकार बनाउने बेलामा सुशासन र विकास दिने, र भ्रष्टाचार अन्त्य गर्छौं भनेकोले सरकारलाई समर्थन दिएको भएपनि अहिले ती कुनैपनि काम नगरेको यादवको गम्भीर आरोप छ । अहिले मुलुकमा कमिशनतन्त्र, भ्रष्टाचार र विचौलियाको बिगबिगी अन्त्य हुनुको साटो झनै बढेर गएको पनि यादवको आरोप छ ।