उर्जामन्त्री खड्का कुलमानलाई हटाउनेगरि अघि बढे, ओली र देउवा दुवैको सहमति


काठमाडौं, १६ फागुन । उर्जामन्त्री दीपक खड्का नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाएरै छोड्नेगरि अघि बढेका छन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देशबाहिर रहेकोले मन्त्री खड्का केही दिन रोकिएका थिए । मन्त्री राणा स्वदेश फर्किएकै दिन आज उर्जामन्त्री खड्काले भेटवार्ता गरेका छन् ।

कुलमानलाई हटाउने विषयमा उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्नै पार्टी सभापति शेरबहादुर देउवासँग सहमति लिइसकेको खुलेको छ । दुवै नेताले मन्त्री खड्कालाई कुलमानलाई हटाउनको लागि सहमति दिइसकेका थिए । आफ्नै मन्त्रालयमा राज्यमन्त्रीको भूमिकामा रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) ले कुलमानलाई कुनैपनि हालतमा हटाउन नहुने मत राखेका छन् ।

उनले सार्वजनिक रूपमै कुलमानले राम्रो काम गरेको भन्दै प्रशंसासमेत गरेका छन् । कुलमानलाई हटाउन नहुने मत जाहेर गरेका तामाङको यतिवेला आफ्नै मन्त्री खड्कासँग सम्बन्ध चिसिएको छ । मन्त्री खड्काले अब बस्ने मन्त्रिपरिषद् बैठकमा कुलमानलाई हटाउने प्रस्ताव पेश गर्ने बताईएको छ । त्यससअघि उनले आज परराष्ट्रमन्त्री राणासँग भेटवार्ता गरेर कुलमान हटाउने पछिल्लो तयारीबारे ब्रिफिङ गरेका थिए ।

अहिलेको सरकारले कुलमानलाई विस्थापित गरेर उनको ठाउँमा अर्जुन कार्कीलाई ल्याउने तयारी गरेको छ । कार्कीको यतिवेला बालुवाटार र बुढानिलकण्ठ आवातजावात बाक्लिएको छ । कार्कीलाई कांग्रेस र एमाले दुवै नेतृत्वले मन पराएको चर्चापनि छ । file photo