उर्जा राज्यमन्त्री तामाङले जथाभावी बोलेको भन्दै देउवा फायर, प्रधानमन्त्री ओली असन्तुष्ट


काठमाडौं, १६ फागुन । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको कारण उर्जा मन्त्रालयका नेतृत्वकर्ताबीच नै कित्ताकाट भएको छ । उर्जामन्त्री दीपक खड्काले सरकारलाई असहयोग गरेको भन्दै प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङलाई हटाउने तयारी गरेको बेलामा उनकै मन्त्रालयमा राज्यमन्त्रीको भूमिकामा रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) ले भने सार्वजनिक रुपमै कुलमानको बचाउमा आफ्नो धारणा राखेका छन् ।

सरकारले नै पटक पटक स्पष्टीकरण सोधेको कुलमानको बचाउमा उत्रिएका कान्छाराम आँफैमा विवादित व्यक्तित्व हुन् । उनी कांग्रेसको राजनीतिमा सक्रियसँगै निर्माण कम्पनी पनि चलाउने व्यक्ति हुन् । उनको नेतृत्वमा रहेको कम्पनीको विषयमा समयमा काम नगरेको भनेर समाचार आइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाकै सहमति लिएर उर्जामन्त्री खड्काले कुलमानलाई हटाउनेगरि कदम चालेको चर्चा छ । तर, कान्छारामले गठबन्धन सरकारको भावना र सभापतिको समेत निर्देशनविरुद्ध बोलेर हिरोपन्थी देखाएको भनेर अहिले कांग्रेसभित्रै चर्चा छ ।

मन्त्री खड्का र राज्यमन्त्री तामाङबीच सुरुदेखि नै ट्युनिङ मिलेको छैन् । कतिपयले अहिलेकी परराष्ट्रमन्त्री आरजु राणाको चाहनाअनुसार कान्छारामलाई उर्जा मन्त्रालयमा लगिएको भनेपनि मन्त्री खड्काले कुलमानको विषयमा राणासँगपनि सहमति लिएको बुझिएको छ । आज साँझ बस्ने सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठकमा कान्छारामको विषयमा पनि गम्भीर छलफल हुने बताईएको छ ।