काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ एवं प्रतिनिधि सभा सदस्य रेखा यादवले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सरकारले सांसदहरुलाई १० करोडसम्मको अफर गरिरहेको आरोप लगाएकी छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सरकारले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सांसदहरुलाई ५ करोडदेखि १० करोडसम्म अफर गर्दै हिँडेको बताएकी हु्न् । राष्ट्रिय सभामा बहुमत नपुगेको कारण सरकारले अध्यादेशहरु संसद्मा पेश गर्न सकेको छैन । राष्ट्रिय सभामा जसपा नेपालका ३ जना सांसद छन् । सरकारलाई समर्थन गरेको दल जसपा नेपालले समर्थन गरेको खण्डमात्रै भूमि अध्यादेश पारित हु्न्छ ।
सरकारले दल विभाजन गराएर भएपनि भूमिअध्यादेश पारित गर्ने नीति लिन सक्ने उनको आशंका छ । तर, जसपा नेपाल विभाजन नहुनेमा आफू ढुक्क रहेको उनले बताईन् । ‘यो नौलो कुरो होईन । हेरौं न उनीहरुले के–के गर्छन् ? किनभने सत्तापक्षले आफू बाँच्न र बचाउन पार्टी विभाजन गर्ने क्रियाकलाप त गरेकै हो नि त । तर, हाम्रो पार्टी विभाजन हुँदैन भन्नेमा हामी ढुक्क छौं । अहिले पनि १० करोड, ५ करोडभन्दै हिँडेका छन् त बजारमा,’– उनले भनिन् ।
भूमि अध्यादेश जनताको हितमा नरहेको उनको दाबी छ । उनले सरकारलाई समर्थन गरेको दल भन्दैमा अनैतिक कार्यमा समर्थन गर्न नसकिने बताईन् । अरु ५ अध्यादेशमा समर्थन गर्नका लागि पनी सरकारले भूमि अध्यादेश फिर्ता लिनुपर्ने आफूहरुको शर्त रहेको उनले सुनाईन् । ‘जनताको हितको निम्ति आउनुपर्यो नि ? सरकारलाई समर्थन गर्यो भन्दैमा हामीले सरकारले गरेका अनैतिक कार्यहरुलाई समर्थन गर्ने हो त ? अरु ५ वटा अध्यादेश पनि हामीले पास गर्छौं नै भनेका छैनौं । त्यसमा पनि केही असहमति छन्, संशोधनसहित पास गर्ने, तर भूमिसम्बन्धी अध्यादेश फिर्ता लानैपर्छ । यस्तो अध्यादेशलाई हामीले पास गराउने कुरै आउँदैन,’– उनले भनिन् ।
दल विभाजनको नीति लिएर जसरी पनि भूमि अध्यादेश पारित गराइएको खण्डमा आफूहरु आन्दोलनको बाटो रोज्न बाध्य हुने उनको चेतावनी छ । उनले आफूहरु भूमि अध्यादेशको पक्षमा फर्किने सम्भावना नै नरहेको बताईन् । ‘गणतन्त्रमा जनता जनार्दन हुन्छन् । हामी जनतामाझमा जान्छौं । हामी आन्दोलन गर्छौं । हामी यो भूमि अध्यादेशको पक्षमा कुनै पनि हालतमा फर्केर आउने अवस्था छैन,’– उनले भनिन् ।




प्रतिक्रिया