कांग्रेसको बटमलाइन पाथीभरामा केबलकार बनाउने होः प्रमुख सचेतक घिमिरे (भिडिओसहित)


काठमाडौं, १७ फागुन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले पाथीभरामा केबलकार बनाएरै छाड्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसको बटमलाइन वास्तविक पीडितहरुको समस्या समाधान पनि गर्ने र केबलकार पनि बनाउने रहेको बताएका हुन् ।

ृउनले भने, ‘कांग्रेसको बटमलाइन भनेको केबलकार बनाउने, सम्बद्ध पक्षहरुको समस्या पनि सुन्ने । वार्तामार्फत विवादलाई सहजपूर्ण ढंगले समाधान गर्ने । तर, केबलकार चाहिँ बनाउने ।’

अहिले विदेशमा रहेका केही मानिसहरुको उक्साहटमा पाथीभरामा केबलकार बनाउने कुरामा विरोध भइरहेको उनको आरोप छ । उनले अमेरिकाको युनिभर्सिटीमा पढाएर नेपालमा पैसा पठाएर आन्दोलन गर्न उक्साउने तत्वहरुसँग केबलकार बनाउने सन्दर्भमा वार्ता नै नहुने बताए । ‘अमेरिकाको युनिभर्सिटीमा पढाएर नो केबलकारको नारा घन्काउनेहरुसँग चाहीँ वार्ता हुँदैन । वार्ता कोसँग हुन्छ भने जो वास्तविक पीडितहरु छन्, जसलाई मर्का परेको छ,’– उनले भने ।

साथै, आगामी फागुन २१ गते बस्ने संघीय संसद्को दुवै सदनको बैठकमा अध्यादेश पेश गरिने उनले बताए । ‘सरकार ब्याक हुँदैन, अब अध्यादेश अगाडि बढ्छ,’– उनले भने ।