काठमाडौं, १७ फागुन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सरकारको निर्देशन र निर्णय पालना नगर्ने हो भने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्ग प्रशस्त गर्दा उचित हुने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारी निकायको प्रमुख भएर बसेकाले सरकारकै निर्णय र निर्देशन नमानी त्यो ठाउँमा बस्नु उचित नहुने बताएका हुन् ।
‘मैले पनि क्याविनेटसम्म आएको कुरा सुनेँ । सरकारी निकायका प्रमुखहरुले सरकारको निर्देशनलाई पालना गर्नुपर्ने धर्म हो । निर्णय मान्नु भएन भन्ने कुरा आएको छ । त्यो नमानीकन त्यो ठाउँमा बस्नु उचित हुँदैन । त्यो कुरा उहाँ आफैंले बुझ्नुपर्ने हो,’– उनले भने ।
उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालयले कुलमानलाई ‘तपाईँलाई पदबाट किन नहटाउने ?’ भनी दोस्रो पटक स्पष्टीकरण सोधिसकेको छ । कुलमानले आफूलाई हटाउने अधिकार उर्जा मन्त्रालयलाई नरहेको जवाफ पठाइसकेका छन् । अहिले सरकार र प्राधिकरणका कार्यकारी निर्देशकबीच द्वन्द्वको स्थिति सिर्जना भइरहेको छ ।




प्रतिक्रिया