काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मिनेन्द्र रिजालले संविधान संशोधनको औचित्यता रहेको बताएका छन् । आज (शनिबार) पोखरामा जारी लिट्रेचर फेस्टिभलमा ‘संविधान संशोधनको औचित्य’ सेसनमा संवाद गर्दै उनले संविधान कार्यान्वयनको यो अवधिमा देखिएका समस्या र कमीकमजोरीलाई सुधार गर्न पनि संशोधन आवश्यक रहेको बताएका हुन् । तर, अहिले कांग्रेस र एमालेले सरकार बनाउनको लागिमात्रै संविधान संशोधनको विषय उठाएका हुन् कि भन्ने आशंका सुरु भएको उनको टिप्पणी छ । यस्तो प्रकारको टिप्पणीप्रति आफू सचेत रहेको पनि उनले सुनाए ।
‘संविधान संशोधनको औचित्य छैन भन्ने कुरासँग म सहमत छैन । तपाईँको टिप्पणीलाई मैले सहज रुपमा लिन्छु कि– सत्ता निर्माण गरेका पार्टीहरु नेपाली कांग्रेु र नेकपा (एमाले) ले सत्ता निर्माणको लागिमात्रै गरेको हो कि भन्ने आशंका बाहिर पनि व्यक्त हुन थालेको छ । यो आशंका प्रति म सचेत पनि छु,’– उनले भने ।
कांग्रेस–एमालेको सरकार बन्नुभन्दा पहिला नै आफूले संविधान संशोधनको कुरा उठाएको पनि उनले दाबी गरे । अहिले सत्ता कसको जिम्मेवारी हो भने कुरा टुङ्गो लाग्न नसक्दा जनतामा निराशा बढ्दै गएको उनले बताए । भोलि आफू रहन्छु कि रहन्नँ भन्ने लागेर नेताहरुले पदमा रहँदा काम सुरु नै नभएका संरचनाहरुको पनि उद्घाटन गर्न थालेको बताए । अब जनताले खोजेअनुसारको सरकार बन्नुपर्ने उनको सुझाव छ ।




प्रतिक्रिया