संविधानले प्रेमिकालाई समानुपातिक सांसद बनाउनुपर्छ भनेको छैन, यो विवेक बिग्रिएर गरिएको काम होः माओवादी नेतृ शर्मा


काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य रेखा शर्माले निर्वाचन प्रणालीको कारण देशमा राजनीतिक अस्थिरता भयो भन्ने आरोप किमार्थ स्वीकार्य नरहेको बताएकी छन् । आज (शनिबार) पोखरामा जारी लिट्रेचर फेस्टिभलमा ‘संविधान संशोधनको औचित्य’ सेसनमा संवाद गर्दै उनले समानुपातिक निर्वाचन प्रणालीलाई हटाउन नसकिने बताएकी हुन् । उनले समानुपातिक निर्वाचन प्रणालीको गलत प्रयोग भने भइरहेको बताईन् । अस्थिरताको कारण समानुपातिक व्यवस्था नरहेको उनको दाबी छ । संविधानले कुनै पनि व्यवस्थाले समानुपातिक प्रणालीमा प्रेमिकालाई सांसद बनाउनुपर्छ भनेर नभन्ने बताउँदै उनले राजनीतिक नेतृत्वहरुको विवेक बिग्रिएर यस्तो काम भइरहेको बताईन् ।

‘यो अस्थिरता भनेर भन्नुभयो अघि पनि यहाँ । अस्थिरताको कारण उत्पीडित समुदायको मान्छेहरु होईनन् । यो संविधान, कानुनलाई प्रयोग गर्ने, सरकार बनाउने र गिराउनेमा लाग्ने मान्छेहरु हुन् । हामीले अहिले के देखेका छौं भने– थोरै भएको समानुपातिक प्रणाली मिसयूज गरियो । संविधानमा कहीँ पनि लेखेको छैन, प्रेमिका लानुपर्छ, ग्रलफ्रेण्ड लानुपर्छ भनेर लेखेको छैन । त्यो त हाम्रो विवेकको बिग्रेर गरेको काम हो । समानुपातिक व्यवस्थाभित्र पनि राम्रा मान्छे लान सकिँदैन ? लान सकिन्छ । तर, त्यसलाई मीसयूज गरिएको छ,’– उनले भनिन् ।

साथै, उनले अग्रगमनतर्फ संविधान संशोधनको लागि माओवादी जहिले पनि तयार रहेको बताईन् । उनले पश्चगमनतर्फको संशोधन भने आफूहरुलाई किमार्थ स्वीकार्य नहुने पनि बताईन् ।