विद्या भण्डारीजस्तो भिजिनरी र समावेशी अर्को कोही छैन, राजनीतिमा आउनु भयो भने देशको लागि सौभाग्य हुन्छः एमाले नेतृ पौड्याल (भिडिओसहित)


काठमाडौं, १८ फागुन । नेकपा (एमाले) की नेतृ एवं पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किदा देशको लागि सौभाग्य हुने बताएकी छिन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराष्ट्रपति भण्डारीजस्तो भिजिनरी र समावेशी नेतृत्व आफूले कसैलाई पनि नदेखेको बताईन् ।

पूर्वराष्ट्रपति भण्डारी पुनः राजनीतिमा आउने वा नआउने भन्ने कुरा उनलाई नै निर्णय गर्न दिनुपर्यो र पार्टीमा ल्याउने वा नल्याउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने पनि उनले बताईन् ।
भण्डारीलाई पु्नः सक्रिय राजनीतिमा फर्किन कानुन बाधक नरहेको उनले बताईन् ।

‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यू पुनः राजनीतिमा आउनु यो देशको सौभाग्य हो । त्यो मैले दक्षताको हिसाबले भनेँ । दक्षताको हिसाबले विद्यादेवी भण्डारीजस्तो मान्छे, उहाँ राजनीतिकर्मी नै हो, राजनीति नै गरेर आउनु भएको हो । फेरि म राजनीति गर्छु भनेर आउनु भयो भने त्यो देशको लागि सौभाग्य हो । तर, आउनुहुन्छ कि आउनुहुन्न भन्ने कुरा हामीले हल्ला गर्ने भन्दा पनि उहाँको आफ्नै च्वाइस हो ।’ उनले भनिन्, ‘कानुनले छेक्दैन, उहाँको नितान्त व्यक्तिगत कुरा हो । त्यो उहाँलाई नै छोड्दिउँ निर्णय गर्न । मैले उहाँ जतिको भिजिनरी, उहाँ जतिको समावेशी, सबैलाई मिलाएर लौजान सक्ने, त्यो खालको व्यक्तित्व मैले देखेको छैन । त्यो भएर आउनुभयो भने म त एकदमै खुसी हुन्छु ।’