पाण्डे र तिम्सिनालाई निलम्बन गरिनु दुःखद् हो, जबज मान्ने हो भने आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्छः एमाले नेतृ पौड्याल


काठमाडौं, १८ फागुन । नेकपा (एमाले) कि नेतृ एवं पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्यालले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई निलम्बन गरिनु दुःखद् विषय रहेको टिप्पणी गरेकी छन् । शनिबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताको बहुदलीय जनवाद मान्ने हो भने पार्टी भित्रको आन्तरिक लोकतन्त्रमा हस्तक्षेप गर्न नहुने बताएकी हुन् ।

व्यवसायी मिनबहादुर गुरुङले दिएको १० रोपनी १४ आना दाने जग्गाको विरुद्धमा बोलेको भन्दै पाण्डे र तिम्सिनालाई एमाले सचिवालय बैठकले ६ महिनाको लागि निलम्बन गरेको थियो । गत पुस १० गते बसेको सचिवालय बैठकले उनीहरुलाई निलम्बन गर्ने निर्णय गरेको थियो । पाण्डे र तिम्सिना अहिले पनि निलम्बित अवस्थामा छन् ।

‘यो एकदम दुःखद हो ।….जनताको बहुदलीय जनवाद भनेर जुन मदन भण्डारीले प्रतिपादित गर्नुभएको छ । त्यसमा पार्टीभित्र आन्तरिक लोकतन्त्रको ठूलो स्पेस छ । त्यसलाई हामी सबैले बचाउनुपर्छ,’– नेतृ पौड्यालले भनिन् ।

उनले घुमाउरो शैलीमा पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर रहेको स्वीकारसमेत गरिन् । ‘आन्तरिक लोकतन्त्र छैन भन्दा पनि खुम्चिँदै गएको हामीले महशुस गर्यौं भनेदेखि त्यसमा आवाज उठाउनुपर्छ । यदि जबजलाई मान्ने हो भने आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्छ,’– उनले भनिन् ।